राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएकी कुन्ती कुमारी शाहीले सोही पदमा उम्मेदवारी दिएकी रेखा थापालाई लक्षित गर्दै राजनीति फिल्म खेलेजस्तो सहज नभएको बताएकी छिन् ।
आज काठमाडौंको भृकुटीमण्डपमा उम्मेदवारी दर्ता गरेपछि शाहीले उक्त कुरा बताएकी हुन् ।
‘उहाँ असाध्यै भ्रममा, राजनीति नै थाहा छैन विचरा,’ रेखालाई लक्षित गर्दै शाहीले भनिन्, ‘राजनीति भन्ने कुरा अब थाहा पाउनु हुन्छ।’ उनले रेखालाई जनताका माझमा जान पनि आग्रह गरेकी छिन्। ‘चुनाव आउँदैछ जनताको माझमा जानुस्। फिल्म खेल्नजस्तो सहज राजनीतिमा हुँदैन,’ उनले भनिन्।
अभिनेत्री, निर्माता, निर्देशकसमेत रहेकी रेखाले राजेन्द्र लिङदेन समूहबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन् भने शाहीले कमल थापा समूहबाट आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
राप्रपामा एक जना महिलासहित तीन महामन्त्री रहने व्यवस्था छ। महिला महामन्त्री पदमा कुन्ती र रेखा आमनेसामने हुने भएका हुन् ।
नायिका रेखा २०७३ सालमा माओवादी छोडेर राप्रपा प्रवेश गरेकी थिइन् भने कुन्ती शाही दैलेखबाट राष्ट्रिय राजनीतिमा उदाएकी महिला हुन् । उनले स्थानीय विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेकी छिन् ।
रेखा थापा पार्टीमा आएको विभाजनपछि उनी २०७४ सालमा कमल थापाको साथ छोडेर पशुपति शम्शेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिकमा लागिन् । अहिले कमल थापालाई छाडेर राजेन्द्र लिङ्देन समूहमा छिन् । उम्मेदवारी घोषणा गर्दै थापाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन बताएकी छिन् ।
शाही राप्रपाको महिला संगठनको केन्द्रिय अध्यक्षको भूमिकामा लामो समय काम गरेको र पार्टीको संगठन विस्तारमा उल्लेखनीय योगदान दिएको उनी निकटहरू बताउँछन् ।