राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा महामन्त्री पदको लागि कलाकार रेखा थापा र नेतृ कुन्ती कुमारी शाहीबीच भिडन्त हुने भएको छ । राप्रपामा एक जना महिलासहित तीन महामन्त्री रहने व्यवस्था छ। महिला महामन्त्री पदमा कुन्ती र रेखा आमनेसामने हुने भएका छन्।
नायिका रेखा २०७३ सालमा माओवादी छोडेर राप्रपा प्रवेश गरेकी थिइन् भने कुन्ती शाही दैलेखबाट राष्ट्रिय राजनीतिमा उदाएकी महिला हुन् । उनले स्थानीय विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेकी छिन् ।
अभिनेत्री, निर्माता, निर्देशकसमेत रहेकी रेखाले राजेन्द्र लिङदेन समूहबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन् भने शाहीले कमल थापा समूहबाट आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
रेखा थापा पार्टीमा आएको विभाजनपछि उनी २०७४ सालमा कमल थापाको साथ छोडेर पशुपति शम्शेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिकमा लागिन् । अहिले कमल थापालाई छाडेर राजेन्द्र लिङ्देन समूहमा छिन् । उम्मेदवारी घोषणा गर्दै थापाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन बताएकी छिन् ।
शाही राप्रपाको महिला संगठनको केन्द्रिय अध्यक्षको भूमिकामा लामो समय काम गरेको र पार्टीको संगठन विस्तारमा उल्लेखनीय योगदान दिएको उनी निकटहरू बताउँछन् ।