बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।
आज प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।
विश्वासको मत लिने प्रस्तावमाथि मतविभाजन गर्न आज प्रदेश सभा बैठक बसेको थियो। विश्वासको मत नपाउने निश्चित भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन्।
शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेको बताइन् ।
‘मुख्यमन्त्रीको नाताले मैले मार्गप्रशस्त गरेकी छु,’ उनले भनिन्, ‘आगामी दिनमा मिलेर अगाडि बढ्न यही बाटो ठिक हुन्छ भन्ने एमालेलाई लाग्यो। मन्त्रीहरू र दलको बैठक पनि बसियो। यसैगरी जाँदा राम्रो हुन्छ भनेर मार्गप्रशस्त गरेकी छु।’
नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्य भदौ २ मा मुख्यमन्त्री बनेकी थिइन्।
तर उनको दल नेकपा एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) बनेपछि उनले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो । शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गरेकी थिइन् ।
मुख्यमन्त्री बनेदेखि नै उनी अल्पमतमा परेकी थिइन्। उनले अल्पमतकै भए पनि सरकार चलाएको र प्रभावकारी काम गरेको दाबी गरेकी थिइन्। उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यबादसमेत दिएकी छन्।
बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई नेकपा एमालेका ४३ सांसदको समर्थन छ । नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।
प्रदेश सभामा बोल्दै उनले एकतावद्ध भएर अगाडि बढ्न आह्वान गरेकी थिइन्। प्रदेश विकास गर्ने हो भने सबै दल मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
अब बागमती प्रदेशमा विपक्षी गठबन्धनबाट मुख्यमन्त्री बन्ने भएका छन्। नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे भावी मुख्यमन्त्रीका रूपमा अघि बढेका छन्।
सभामुखले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरेका छन्।