नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो,‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।’
गत साउन ४ गते हिमालयन टेलिभिजनको यक्ष प्रश्नमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताएका थिए ।
उनले भनेका थिए ‘एमसीसीलाई जस्ताको तस्तै मान्दैनौं भनेका छौं । एमसीसी जस्ताको तस्तै पारित हुँदैन । यसमा आवश्यक संशोधन, परिमार्जन र व्याख्या गरेर मात्र यसलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो धारणा हो ।’
त्यस्तै प्रचण्डले माओवादी केन्द्र पनि संसदवादमा फस्दै गएको भन्दै संसदवादले राम्रो नगरेको बताए । प्रचण्डले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।
उनले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर बस्न आग्रह समेत गरे ।