विश्वकप फुटबलको छनोट खेलमा इटाली स्विट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । विश्वकपको युरोपियन छनोटतर्फ आइतबार राति भएको खेलमा इटालीले स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।
स्विट्जरल्यान्डको मैदानमा खेलको निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । खेलको ५३औँ मिनेटमा जोर्गिन्होले पेनाल्टी मिस गरेपछि इटालीले अग्रता बनाउने मौका खेर फालेको थियो ।
स्विट्जरल्यान्डसँग बराबरी खेलेको भएपनि इटालीले कीर्तिमान बनाएको छ । उसले ३६ खेलमा अपराजित रहँदै कीर्तिमान बनाएको हो ।
पछिल्लो पटक इटालीले सन् २०१८ सेप्टेम्बरमा युइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० गोलको हार बेहोरेको थियो । त्यसयता ऊ पराजित भएको छैन ।
यस्तै, इटालीले स्पेनले सन् २००७ देखि २००९ को बीचमा बनाएको ३५ खेलको अपराजित यात्रालाई उछिन्यो भने ब्राजिलले सन् १९९३ देखि १९९६ सम्म बनाएको ३६ खेलको कीर्तिमानलाई बराबरी गरेको छ ।
बराबरीसँगै समूह ‘सी’ को शीर्ष स्थानमा रहेको इटालीले पाँच खेलमा ११ अङ्क जोडेको छ । स्विट्जरल्यान्ड भने सात अङ्कका साथ दोस्रो स्थानमा छ ।