सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट खेलमा पोर्चुगलले आयरल्यान्डमाथि जित निकालेको छ । बुधबार राति विश्वकपको युरापियन छनोटतर्फ पोर्चुगलले आयरल्यान्डमाथि २–१ गोलको जित निकालेको हो ।
पोर्चुगलस्थित स्टेडियो अलगाब्रेमा घरेलु टिमको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । आयरल्यान्डका जोन इगानले एक गोल गरे ।
खेलको १५औँ मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा अग्रता दिलाउने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । पेनाल्टी क्षेत्रभित्र जेफ हेन्डरिकले ब्रुनो फर्नान्डेसलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए ।
खेलको ४५औँ मिनेटमा इगानले गोल गर्दै आयरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको अन्त्यतिर रोनाल्डोले दुई गोल गरे । खेलको ८९औँ मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई खेलमा फर्काए । इन्ज्युरी समयमा दोस्रो गोल गर्दै उनले पोर्चुगलको जित सुनिश्चित गरे ।
यी दुई गोलसँगै रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ता बने । यी दुई गोलसँगै उनले राष्ट्रिय टोलीका लागि एक सय ११औँ गोल गरे । रोनाल्डोले एक सय ८० खेल खेलेका छन् ।
उनले इरानका अली दाईलाई दुई गोलले उछिने । सन् १९९३ देखि २००६ बीच इरानका अली दाइले कीर्तिमानी एक सय नौ गोल गरेका थिए ।
यता, पोर्चुगलले जितसँगै चार खेलमा १० अङ्क जोडेको छ । पोर्चुगल समूह ‘ए’को शीर्ष स्थानमा छ । अङ्कविहीन आयरल्यान्ड चौथो स्थानमा छ । उसले तीन खेल खेलेको छ ।