भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालमा मामा–माइजू रहेको बताउँदै खेल सकिएपछि भेट्ने बताएका छन् ।
नेपालविरुद्धको मैत्रीपूर्ण खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनका क्रममा कप्तान क्षेत्रीले नेपालमा आफ्नो मामा र माइजू बसेको बताउँदै खेल सकिएपछि भेट्ने बताएका हुन् । नेपालमा अझै आफ्नो थुप्रै आफन्त रहेको बताउँदै उक्त धारणा राखेका हुन् ।
साफ तयारीमा रहेको नेपाली फुटबल टोलीले भोलि –बिहीबार) पाहुना टोली भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुने खेलमा दुवै टोली सुखद लक्ष्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न आँटेको हो । साफ च्याम्पियनसिप आउँदो असोज १५ देखि ३० गतेसम्म हुनेछ ।
खेलको पूर्वसन्ध्यामा कप्तान क्षेत्रीले नेपालका लागि सफ्ट कर्नर रहेपनि पिचमा उत्रिँदा जित्ने लक्ष्यसहित उत्रिने बताए ।
क्षेत्रीले घरेलु टोली नेपालविरुद्धको मैत्रीपूर्ण खेल सहज नहुने बताए । नेपाल जहिले पनि नेपाल बलियो प्रतिद्वन्द्वी भएको तथा टोलीमा केही परिवर्तन देखिएका कारण नेपालसँगको खेल चुनौतीपूर्ण रहेको बताए ।