थारु समुदायको एकदमै महत्त्वपूर्ण खाना मध्ये पर्छ माछा । त्यतिकै महत्त्व छ उनीहरूको माछा राख्ने भाडा डिलीया । माछा राख्नलाई बनाइएको एक विशेष प्रकारको भाँडो नै डिलीया हो ।
डिलीया पछिल्लो समय लोप हुदैँ गएको छ । डिलीया बाँसबाट बनाइने एक प्रकारको माछा राख्न प्रयोग हुने भाँडो हो ।यो हेर्दा झट्ट फुलदाँनी जस्तो देखिन्छ । यस्तो विशेष प्रकारको माछा राख्ने भाडा डिलीया पहिले थारु समुदायका घर घरमा देखिन्थे भने अहिले त्यो लोप हुदैँ गएको छ । पछिल्लो समय डिलीया (माछा राख्ने भाँडो) लोप हुने अवस्थामा पुगेको स्थानीय बत्ताउँछन् ।
माछा मार्न जाँदा माछा राख्न सहज हुने डिलीया अहिले प्राय धेरैका घरमा देखिन छोडेका छन् । पहिले माछा मार्न जाँदा लगिने डिलीया अनिवार्य नै थियो ।थारु समुदायमा माछा मार्नु परम्परा जस्तै हो भने हेल्का र डिलीया पनि उनीहरूको परम्परा सँग जोडिएको छ । माछा मार्ने हेल्का (जाल) र डिलीया (माछा राख्ने भाँडो) को संरक्षण हुन सकेको छैन् ।
अन्य कामको व्यस्तताले पनि आज भोलि डिलीया बनाउने मानिसको कमी भएको देखिन्छ ।धेरैले डिलीया नपाएको प्लास्टिकको भाँडो लिएर पनि माछा राख्न प्रयोग गरेको देख्न सकिन्छ । डिलीयाको महत्त्व धेरै भए पनि पछिल्लो समय यस्तो बनाउने मानिसको नै कमी भएको पाइन्छ ।
पहिले सबैको घरमा पाउने डिलीया अहिले भने लोप हुने अवस्थामा छ । लोप हुदैँ गएको डिलीया संरक्षण गर्नमा कसैको ध्यान नगएको अवस्थामा कैलालीको कैलारी गाउँपालिकाका -६ बनकट्टीका दशिराम लोहटी भने यसको संरक्षणमा लागेका छन् । उनले यसको संरक्षण सँगै यसलाई आफ्नो पेशा नै बनाएका छन् ।
डिलीया बनाउन दशिरामले आफ्ना हजुरबुवाबाट सिकेको सिप हो । डिलीया बनाएरै उनले घर खर्च मात्रै चलाएका छैनन् । यसको संरक्षण पनि गरेका छन् । तर पछिल्लो समय यसको संरक्षणमा कसैले चासो नदिएको उनकाे दुखेसो छ ।‘अहिले अन्य कामको व्यस्तताले पनि यसमा धेरैले चासो देखिएको छैन।’ दशिरामल भने, ‘आफूले बनाएका डिलीयालाई साइकलमै बाँधेर कैलालीका विभिन्न ठाउँमा पु¥याउदै आएको छु ।’
अहिले आफुले खेतीको काम सँगै फुर्सदमा बाँसका विभिन्न सामाग्री बनाउदै आएको उनको भनाई छ ।‘घरको काम पनि गर्ने पर्छ,भएको खेतीपाति पनि गर्ने पर्यो’ उनले भने, ‘खेतीपातीको समय बाहेकमा उसमा पनि मैले समय दिन्छु ।’ उनले एउटा डिलीयालाई १५० देखी १८० रुपियाँ सम्म बेच्ने गरेका छन् ।
साइकलमा दैनिक ५० देखी ६० ओटा डिलीया राखेर कैलालीका विभिन्न ठाउँमा पु¥याने गर्छन् । गाउँमा अहिले एक दुई जनाले मात्रै डिलीया बनाउने गरेको उनी सुनाउँछन् । यसमा युवा पुस्ताले पनि ध्यान दिन सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिने उनको भनाई छ ।