अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सी २१ वर्ष लामो बार्सिलोना बसाइ अन्त्य गर्दै फ्रान्सको राजधानी पेरिस बसाइँ सरे । बार्सिलोनाको एकेडेमीमा हुर्किएर क्याप नोउमा आफ्नो करिअरको आधा समय ब्यतित गरेका मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आवद्ध भए ।
१३ वर्षको उमेरदेखि नै बार्सिलोनासँग जोडिएका मेस्सीले अप्रत्याशित रूपमा क्लब छोडे । सुरुमा पाँच वर्ष सम्झौता थप्न राजी भएका मेस्सी पछि हटे र बार्सिलोनाबाट निस्किए । बार्सिलोनाबाट निस्किएको पर्सिपल्ट नै मेस्सी पिएसजी जान तयार भए । दुई वर्षको र पछि एक वर्ष थप्नसक्ने प्रावधानसहित पिएसजीसँग सम्झौतामा हस्ताक्षर गरेका उनलाई पिएसजीले मङ्गलबार नै सार्वजनिक गरेर बुधबार पत्रकार सम्मलेनको आयोजना गरेको थियो ।
सार्वजनिक कार्यक्रमा निकै खुसी देखिएका मेस्सी पत्रकार सम्मेलनका क्रममा केही निराश र गम्भीर देखिए । बार्सिलोना छोड्न कठिन भएको सुनाउँदै उनले भनेका थिए, ‘बार्सिलोना छोडर पिएसजी रोज्नु मेरो लागि निकै कठिन निर्णय हो । गत साता मलाई जे भयो, निकै कठिन थियो । भावनात्मक रूपमा पनि मलाई निकै गाह्रो भयो ।’
सर्वाधिक धेरै ६ पटकका बालोन डी ओर विजेता मेस्सीले बार्सिलोना छोडेर पिएसजी रोज्नुका केही कारण खुलाए । पिएसजीलाई ‘यस’ भन्नका लागि केही कुराहरूले सहयोग तुल्याएको बताउँदै पेरिस आउन बाध्य पार्ने पाँच तथ्यहरू बेलिबिस्तार लगाएः
१. बार्सिलोनाको पीडाबाट मुक्त हुन
कोरोना महामारीका कारण स्पेनिस क्लबहरू आर्थिक रूपमा कठिन अवस्थाबाट गुज्रिरहेका छन् । आर्थिक अभावको सबैभन्दा मारमा पर्ने क्लबमध्येको एक बार्सिलोना पनि हो । पछिल्लो समय अझ बार्सिलोना ऋणमा डुबेको बताइन्छ । सम्झौता सकिएको तीन साताभित्र उनी सन् २०२६ सम्म बार्सिलोनामै रहनेगरी सहमति नजिक पुगेका थिए ।
५० प्रतिशत तलब कटौती गर्न राजीसमेत भएका थिए उनी । तर क्लब त्योभन्दा पनि नाजुक अवस्थामा पुगिसकेको थियो । यसैले बार्सिलोनासँगको सम्झौताको अन्तिम पत्र थुतेर पिएसजी आएको उनले बताए । ‘सुरुमा त्यहाँ कठिन दिनहरू थिए, त्यैपनि म सुरुआत गर्ने इच्छाका कारण नर्भस भएको थिएँ । जब म सम्झौता गर्ने प्रक्रियाको अन्तिम चरणमा पुगेँ, धेरै कुरा परिवर्तन हुन थाले । म माथि त छैन तर पनि मैले प्रगति त गरिरहेको छु,’ उनले भने ।
२. परिवारको खुसी
आफ्नो परिवारको खुसीका लागि भएपनि मेस्सी पिएसजीलाई अन्तिम निर्णय मान्न तयार भएका थिए । केही समयअघि करको विषयमा मेस्सीले पाएको दुःखका कारण परिवार राजी बनेको बताइन्छ । बार्सिलोनामै स्थायीजस्तो अवस्थामा रहेका उनको परिवार पनि पेरिसलाई एक गन्तब्यका रूपमा मान्न तयार थियो ।
अझ, उनका तीन सन्तान धेरै खुसी थिए । पत्नी एन्टोनेला पनि पेरिस बसाइ सर्न राजी देखिइन् । परिवारकै खुसीका लागि पनि उनी पेरिस आउन सहमत देखिए । ‘बार्सिलोना छोड्नुको झट्का मेरा सम्पूर्ण परिवारका लागि गाह्रो थियो तर एन्टोनेला म जहाँ गएपनि मेरो साथ छोड्दिनन् । उनले मलाई पहिल्यैबाट समर्थन गरिरहेकी थिइन् । यस्तै, बच्चाहरू पनि आइफिल टावर र डिज्नील्यान्ड पुगिने भनेर खुसी थिए । त्यही खुसी मैले आफ्नो खुसी ठानेँ,’ उनले सुनाए ।
३. पिएसजीको ड्रेसिङ रुम
बार्सिलोनामा दबाब र परिवारको खुसीका कारण उनलाई पिएसजीको ड्रेसिङ रुमले थप लोभ्यायो । किनकि, पिएसजीको ड्रेसिङ रुममा उनका पुराना सहकर्मी थिए । उनका पूर्वसहकर्मी नेयमार, जोसँगको मित्रता आजसम्म पनि सुमधुर छ । नेयमार नै मेस्सीलाई पिएसजीमा भित्र्याउन आन्तरिक एजेन्ट बनेको पनि बताइन्छ ।
त्यस्तै राष्ट्रिय टोलीका एन्जल डी मारिया, माउरो इकार्डी, लियन्द्रो पेरेडेससँग घुलमिल हुने कुराले उनलाई थप लोभ्यायो । त्यसबाहेक प्रशिक्षक मौरिसियो पोचेटिन्हो पनि अर्जेटिनाकै हुन् । ‘व्यक्तिगत रूपमा, यहाँको ड्रेसिङ रुममा म राम्रोसँग चिन्छु । यहाँ स्वस्थ समूह छ । अझ, अर्जेन्टिनी कोचिङ स्टाफ छन् । यत्तिको उत्कृष्टता अरू क्लबमा कहाँ हुन्छ र ?’
४. पुराना साथीहरू, नयाँ लक्ष्य
मेस्सीले अब पिएसजीमा परिचित सहकर्मीसँग नयाँ वातावरणमा काम गर्ने पक्का छ । किनकि, माथि नै उल्लेख भएअनुसार उनका पुराना सहकर्मीहरू पिएसजीमै थिए । उनी भन्छन्, ‘मैले डी मारिया, पेरेडेस र नेयमारसँग म कहाँ बस्ने र मेरा बच्चाहरू कुन स्कुल जान सक्छन् भन्ने विषयमा कुरा पनि गरिसकेको छु ।’
‘अब म प्रशिक्षणमा जुट्नेछु र मेरो परिवार छोटो समयका लागि बार्सिलोना फर्किनेछ । ‘मलाई थाहा छैन कि म कहिलेदेखि यहाँबाट खेल्न पाउनेछु’, उनी थप्छन्, ‘म भर्खरै त बिदाबाट फर्किएको छु ।’
त्यसबाहेक उनको नयाँ लक्ष्य च्याम्पियन्स लिगको उपाधि थप्नु हो । बार्सिलोनाबाट भने उनले पछिल्लो पटक सन् २०१५ मा च्याम्पियन्स लिग जितेका थिए । पुनः एकपटक च्याम्पियन्स लिग जित्नु आफ्नो सपना र लक्ष्य रहेको उनले बताए । ‘मेरो लक्ष्य र सपना भनेको पुनः एक पटक च्याम्पियन्स लिग जित्नु हो । मेरो विचारमा हामीसँग यहाँ टिम छ, जसले मेरो सपना साकार गर्न सक्छ ।’
५. पेरिसको न्यानो स्वागत
जब मेस्सी बार्सिलोनामा सम्झौता थप्ने वा नथप्नेमा अन्योल बने । तब नै इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र पिएसजीले इच्छा देखाएका थिए । तर सिटीको तुलनामा पिएसजीले आफ्नो इच्छालाई तीव्रता दियो । केही वर्ष अघिदेखि नै रियल मड्रिडका सर्जियो रामोस र मेस्सी भित्र्याएर ‘बिग टिम’ बनाउने योजना बनाएको पिएसजीले मेस्सी भित्र्याउने विषयमा अन्त्यसम्म पनि हार मानेन ।
‘सुरुदेखि नै हात पाएको थिएँ, अझ यहाँ आउँदाको स्वागत उत्कृष्ट थियो । मैले ज्यादै खुसी अनुभव गरेँ । यो नै मेरो बार्सिलोनाबाहिरको पहिलो अनुभव थियो । बार्सिलोना छोड्दाको झट्कापछि पनि पिएसजीको न्यानो स्वागतले म फेरि खुसी भएँ,’ उनले भने ।