सरकारले आजदेखि देशभर कोरोनाविरुद्ध प्रयोगमा आएको एस्ट्राजेनेका खोप लगाउने अभियान सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जापानबाट पाँच लाख १३ हजार र भुटानबाट तीन लाख मात्रा एस्ट्राजेनेका खोप प्राप्त भएको थियो । तर, केही खोपको बट्टामा म्याद सकिने मिति २०२१ अगस्ट रहेको छ ।
खोप विज्ञहरूले १५ भदौ २०७८ सम्म ३१ अगस्ट भएकाले अबको २१ दिनसम्म एस्ट्राजेनका खोप प्रयोग गर्न मिल्ने बताएका छन् । केटिएम दैनिकसँग कुरा गर्दै कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका संयोजक समेत रहेका खोप विज्ञ डा.श्यामराज उप्रेतीले कुनै पनि औषधि वा खोपको म्याद हुँदासम्म प्रयोग गर्न सकिने बताए ।
उनले भने, ‘तोकिएको म्यादभित्र प्रयोग गर्दा केही फरक पर्दैन । म्याद सकिने अन्तिम दिनसम्म प्रयोग गर्दा पनि खोपको प्रभावकारिता रहन्छ ।’ उनले १५ भदौ भित्रसम्म म्याद सकिने मिति २०२१ अगस्ट लेखिएको एस्ट्राजेनका खोप प्रयोग गर्न मिल्ने बताए ।
चैतमा पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी झन्डै १३ लाख ६५ हजार जनालाई एस्ट्राजेनका लगाउन लागिएको हो । कोभिसिल्ड खोप र एस्ट्राजेनका खोप एउटै प्रकृति र प्रविधिबाट बनेकाले कोभिसिल्ड खोप लगाएकालाई एस्ट्राजेनका उपलब्ध गराइएको बताए ।
नेपालले भारत सरकारसँग खरिद गरेको २० लाख मात्रा कोभिसिल्ड मध्ये १० लाख मात्रा उपलब्ध नगराउँदा उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाइ भएको हो ।
स्वास्थ्य मन्त्रालयले कोभिसिल्ड खोपको विकल्पमा एउटै प्रकृतिको खोप एस्ट्राजेनेका भएकाले सो खोप लगाउन लागिएको बताएको छ ।