१औँ संस्करणको दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ । सोमबार बसेको साफ कार्य समितिको बैठकले १ देखि १३ अक्टोबरमा तय भएको साफ च्याम्पियनसिप माल्दिभ्समा हुने पक्का गरेको हो ।
नेपाल र माल्दिभ्सबाट प्राप्त प्रस्तावनाका आधारमा उक्त बैठकले माल्दिभ्सलाई साफ आयोजनाको जिम्मा दिएको हो । यसअघि नेपालले पनि साफ आयोजना गर्ने भनेर पत्र पठाएको थियो ।
‘कोरोना महामारीको अवस्था हाम्रोभन्दा राम्रो भएका कारण साफले माल्दिभ्समा प्रतियोगिता गर्ने निर्णय गरेको छ’, एन्फा सचिव ईन्द्रमान तुलाधारले भने, ‘लामो समयपछि माल्दिभ्सले साफ च्याम्पियनसिपको जिम्मा पाएको छ ।’
अन्तिम पटक माल्दिभ्स र श्रीलङ्काले संयुक्त रूपमा सन् २००८ मा च्याम्पियनसिपको आयोजना गरेका थिए । जसमा माल्दिभ्सले उपाधि जितेको थियो ।
नेपालसहित बङ्गलादेश, भारत, माल्दिभ्स र श्रीलङ्काले साप च्याम्पियनसिपमा सहभागिता जनाउने छन् भने भुटानले आगामी तीन दिनभित्र निर्णय लिने बताइएको छ ।
साफको पुरुष फुटबल प्रतियोगिता नेपालमा दुई पटक आयोजना भएको छ । सन् १९९७ मा नेपालमा पहिलोपटक साफ आयोजना भएको थियो । त्यसपछि २०१३ मा नेपाल अफ्गानिस्तानसँग सेमिफाइनलमा हारेको थियो ।
भारत साफ फुटबलमा सर्वाधिक धेरै सफल टिम हो । उसले सात पटक उपाधि जितेको छ । नेपाल भने अझैसम्म फाइनलसम्म पुग्न सकेको छैन ।