साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म गर्ने तय भएको कक्षा १२ को परीक्षा स्थगित हुँदा तयारी अवस्थामा बसेका विद्यार्थी निराश बनेका छन् । कोरोना सङ्क्रमण दर बढेको भन्दै राष्ट्रिय परीक्षा बोर्डको शनिबारको बैठकले अर्को सूचना नआउन्जेलका लागि परीक्षा स्थगित गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सिसिएमसी, र राष्ट्रिय परीक्षा बोर्डको छलफलपछि परीक्षा स्थगित गरिएको हो । यसअघि बोर्डले भौतिक रूपमै परीक्षा गर्ने निर्णय गरेको थियो । तर परीक्षा आउनुभन्दा केही समयअघि सर्वत्र विरोध भएको थियो । कतिपयले सामाजिक सञ्जालमा भन्ने ह्यासट्यागसमेत चलाएका थिए ।
तर बोर्डले परीक्षा स्थगित गरेपछि परीक्षा दिन तयारी रूपमा बसेका विद्यार्थी निराश बनेका हुन् । स्थगन नगरी वैकल्पिक उपाय अवलम्बन गरेर परीक्षा गराउनुपर्ने विद्यार्थीको माग छ । यस्तै, त्रिभुवन विश्वविद्यालयको पूर्वनिर्धारित परीक्षा जारी रहेपनि कक्षा १२ को मात्र रोकेर विद्यार्थीको भविष्य अन्योलमा पार्न खोजेको विद्यार्थीको आरोप छ । अहिले स्नातकको परीक्षा भौतिक उपस्थितिमै भइरहेको छ ।
काठमाडौँको जेभियर्स इन्टरनेशनल कलेजमा अध्ययनरत अनिश महत परीक्षा दिनकै लागि कोरोनाको जोखिमका बीच मोरङबाट काठमाडौँ पुगेका थिए । तर, परीक्षा पुनः स्थगित भएपछि उनी फेरि मोरङको बेलबारी नगरपालिका–१ नक्सलबारीस्थित आफ्नो घर फर्किने तयारीमा छन् । यसअघि परीक्षा गत वैशाखमै सम्पन्न हुनुपर्ने कोरोनाकै कारण स्थगित भएपछि घर आएका उनी जाँच दिन भनेर पुनः काठमाडौँ पुगेका थिए ।
‘फेरि पनि परीक्षा नहुने भयो, अब घर फर्किने तयारीमा छु’, उनी भन्छन्, ‘सरकारले कोरोना महामारीको बहाना देखाउँदै कक्षा १२ को परीक्षा रोकेर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न खोज्यो । बरु भौतिक उपस्थितिको विकल्प खोजेको भए हुन्थ्यो । झन्, ब्याचलरको परीक्षा जारी नै छ ।’
सुन्दरहरैँचा–११ गोठगाउँ घर भएका विद्यार्थी अर्पण तिमिल्सेना पनि परीक्षाकै तयारीमा थिए । पञ्चायत माविमा अध्ययनरत अर्पण पनि भौतिक उपस्थिति नभएर वैकल्पिक उपायबाट नै परीक्षा होस् भन्ने चाहन्थे । तर वैकल्पिक उपायतर्फ सरकारको ध्यान जान नसक्नु दुःखको कुरा भएको उनी बताउँछन् । ‘हाम्रो भविष्य अन्योलमा पार्ने काम सरकारबाट भयो’, उनी भन्छन्, ‘अरूले भौतिक उपस्थितिमै परीक्षा दिइरहँदा कक्षा १२ लाई नै टार्गेट गरेर स्थगित ग¥यो । अनलाइनलबाट वा आन्तरिक मूल्याङ्कनबाट गरे हुन्थ्यो ।’
गोठगाउँस्थित पञ्चायत माविका प्रधानाध्यापक खगेन्द्र रायमाझी परीक्षा स्थगन गरेर सरकारले औचित्यहीन काम गरेको बताउँछन् । ‘विद्यालय क्षेत्र नै किन ?’, उनी भन्छन्, ‘यातायात चलेकै छन्, बजार व्यवसाय खुलेकै छन् । फेरि अरू युनिभर्सिटीले पनि परीक्षा भौतिक उपस्थितिमै लिइरहेका छन् । परीक्षा दिन ढिलाइ हुँदा विद्यार्थीको भविष्य डामाडोल हुने भयो ।’ अहिले भौतिक उपस्थितिमै कक्षा ११ को परीक्षा पनि लिइरहेको उनले बताए ।
उनी थप्छन्, ‘हामी सुरक्षित तबरले भौतिक उपस्थितिमै परीक्षा लिनका लागि तयार थियौँ । हामी पनि चाहन्छौँ कि विद्यार्थीको स्वास्थ्यमा कुनै जोखिम नहोस् । हामीसँग अनलाइन वा अन्य कुनै वैकल्पिक उपाय सम्भव छैन तर सुरक्षित तरिकाले भौतिक उपस्थितिमै परीक्षा गराउनेथियौँ । स्वास्थ्य सुरक्षाका मापदण्ड राम्रोसँग पालना गर्ने थियौँ ।’ उनका अनुसार यसरी परीक्षा रोकिएपछि विद्यार्थीको शैक्षिक सत्र नै पछाडि पर्छ ।