ब्राजिलियन मिडफिल्डर डेनी अल्भेसले सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीको सूचीमा थप अग्रता बनाएका छन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फ गोल्ड मेडल जितेसँगै ३८ वर्षीय अल्भेसले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग दूरी थप फराकिलो बनाए ।
शनिबार योकोहामास्थित अन्तर्राष्ट्रिय रङ्गशालामा ब्राजिलले स्पेनलाई २–१ गोलले हराउँदै स्वर्ण जितेको थियो । यससँगै ब्राजिलको कप्तानी गरिरहेका अल्भेसले एक व्यवसायिक फुटबलरका रूपमा ४३औँ ट्रफी जिते ।
अल्भेसले दुई वर्षको विश्रामपछि ब्राजिलको कप्तानी गरेका थिए । टोकियो ओलम्पिकबाट नै पुनः कप्तानी गर्न थालेका उनले ६ खेलमा ब्राजिलको नेतृत्व गरे । उनको कप्तानीमा ब्राजिलले पहिलो खेलमा जर्मनीमाथि ४–२ गोलको जित निकालेर विश्वकपको लज्जास्पद हार टालटुल गरेको थियो । दोस्रो खेलमा आइभोरी कोस्टसँग गोलरहित बराबरी खेलेको ब्राजिलले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियामाथि ३–१ गोलको जित निकाल्दै अघिल्लो चरणमा स्थान पक्का गरेको थियो ।
चौथो खेलमा इजिप्टलाई १–० गोलले सिकार बनाउँदा सेमिफाइनल खेलमा मेक्सिकोलाई पेनाल्टीमा हराएर स्वर्ण नजिक पुगेको थियो । ६ खेलमा अल्भेसको प्रदर्शन औसत रह्यो । पाँचौँ खेलमा पेनाल्टी सुटआउटमा एक गोल गर्नुबाहेक अल्भेसले अरू गोल गर्न सकेनन् । तथापि, उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडीमध्येका एक भने रहन सफल भए ।
स्पेनका दुई क्लब बार्सिलोना र सेभिल्लाका पूर्व–डिफेन्डरसमेत रहेका अल्भेस आफ्नो कर्मदेशविरुद्ध स्वदेशलाई गोल्ड मेडल जिताए । उनले १४ वर्ष स्पेनिस क्लबका लागि खेलेका थिए । अल्भेसले सन् २००२ देखि २००८ सम्म सेभिल्लाको र त्यसउता सन् २०१६ सम्म बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका थिए ।
उनी सर्वाधिक धेरै उपाधि जित्ने खेलाडीको सूचीमा सबैभन्दा अगाडि छन् । अल्भेसले व्यवसायिक फुटबल थालेको क्लब बाहियाबाट एउटा उपाधि जितेका थिए भने सेभिल्लाबाट पाँचवटा ट्रफी हात पारेका थिए । बार्सिलोनाबाट आठ वर्ष खेल्दा २३ वटा, युभेन्टसबाट दुईवटा, ६ वटा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट र एउटा साओ पाउलोबाट जितेका छन् । त्यसबाहेक आफ्नो राष्ट्रबाट चारवटा ट्रफी उचालेका छन् ।
यस्तै दोस्रो नम्बरमा आउँछन्, लियोनल मेस्सी । मेस्सीले हालसम्म ३८ वटा उपाधि जितेका छन् । मेस्सीले १० पटक ला लिगाको उपाधि जितेका छन् भने चारवटा च्याम्पियन्स लिगको ट्रफी हात पारेका छन् । सातवटा स्पेनिस कप जितेका उनले एक पटक ओलम्पिकमा गोल्ड मेडलसमेत जितेका छन् । उनले हालै मात्र कोपा अमेरिकाको उपाधि जित्दै पहिलोपटक सिनियर टोलीबाट देशका लागि ट्रफी उचालेका थिए ।
यी हुन्, सर्वाधिक उपाधि जित्ने फुटबलर
१. डेनी अल्भेस– ४३ ट्रफी
२. लियोनल मेस्सी–३८ ट्रफी
३. आन्द्रेस इनियस्टा–४७ ट्रफी
४. म्याक्सवेल– ३७ ट्रफी
५. रियान गिग्स– ३६ ट्रफी
६. केनी डग्सिल– ३५ ट्रफी
७. जेरार्ड पिके– ३४ ट्रफी
८. भिक्टर बाइया– ३४ ट्रफी
९. क्रिस्टियानो रोनाल्डो– ३३ ट्रफी
१०. जाभी हर्नान्डेस– ३३ ट्रफी