आगामी केहीदिनमै विश्व प्रसिद्ध फुटबलर लियोनल मेस्सीलाई पेरिस सेन्ट जर्मेन पीएसजीले औपचारिक रुपमा अनुबन्ध गर्नेछ।
२१ वर्षसम्म बार्सामा रहेर मेस्सीले दर्जनौं उपाधि दिलाए तर बार्सामै रहने मन हुँदा पनि ला लिगाको सिमित तलबको नियमका कारण उनी बार्साबाट आइतबार मात्र औपचारिक रुपमा विदा भए।
उनले आइतबार नै पत्रकार सम्मेलनमा पीएसजीसँग सकारात्मक छलफल चलिरहेको बताएका थिए। यद्यपी उनले फेरि बार्सामै फर्कने चाहना व्यक्त गरेका थिए।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मेस्सीले पीएसजीमा नेमारलेभन्दा बढी तलब पाउनेछन्। मेस्सी र पीएसजीबीच दुई वर्षको सम्झौता हुनेछ।
यसक्रममा फुटबल स्पाना नेटका अनुसार मेस्सीसँग पुनर्मिलन हुने निश्चित भएपछि नेमारले मेस्सीको लागि जर्सी नंबर १० त्याग्न तयार भएका छन्।
दुई सिजन अगाडि नेमारले पीएसजी छाड्ने इच्छा व्यक्त गर्दै आफूलाई पुनः मेस्सीसँगै भएर खेल्न मन लागेको बताएका थिए। त्यसबेला मेस्सीले पनि नेमारलाई बार्सामा ल्याउनुपर्छ भन्ने भनाइ राखेका थिए।
त्यसबेला उनीहरु एक हुन सकेनन्। तर यतिबेला भने मेस्सी नै पीएसजीमा जाने भएका हुन्।
बार्सामा सन् २०१४ देखि २०१७ सम्म नेमारले ११ नंबरको जर्सी लगाउँथे। उनी सन् २०१७ मा पीएसजीमा आएयता १० नम्बरको जर्सीमा देखिएका छन्।
अब फेरि बार्सिलोनामा जस्तै मेस्सीले १० र नेमारले ११ नम्बरको जर्सी लगाउने अनुमान गरिएको छ।
खबरका अनुसार मेस्सीलाई स्वागत गर्न पीएसजीले आइफिल टावर नै भाडामा लिइसकेको छ।