लियोनल मेस्सीको बहिर्गमनपछि कमजोर आँकलन गरिएको बार्सिलोनाले क्रिस्टियानो रोनाल्डो सम्मेलित युभेन्टसलाई हराएर उपाधि जितेको छ । आइतबार राति स्पेनिस जायन्ट बार्सिलोनाले युभेन्टसलाई ३–० गोलको सहज जित निकाल्दै उपाधि जितेको हो ।
बार्सिलोनाले आफ्नै मैदान क्याप नोउमा युभेन्टसलाई हराउँदा मेम्फिस डिपे, मार्टिन ब्रेथवेट र रिकी पुगले एक–एक गोल गरे । बार्सिलोनाले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा दुई गोल थपेको थियो ।
युभेन्टसको टिमबाट रोनाल्डो, अल्भारो मोरटा, आरोन राम्सेलगायत खेलाडी भएपनि गोल गर्न सकेनन् । रोनाल्डोले ४६औँ मिनेटसम्म मात्र मैदानमा बिताएका थिए । त्यसपछि उनको स्थानमा डेजान कुलुसेभ्स्की मैदान उत्रिएका थिए ।
खेलको तेस्रो मिनेटमा नै डिपेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ५७औँ मिनेटमा ब्रेथवेटले गोल गरेपछि बार्सिलोनाले आफ्नो अग्रता दोब्बर बनायो ।
इन्ज्युरी समयमा रिक्की पुगले गोल गरेपछि बार्सिलोनाले ३–० गोलको जित निकाल्दै उपाधि जितेको हो । यससँगै ग्याम्पर कपको सर्वाधिक सफल टिम बार्सिलोनाले ४४ औँ पटक उपाधि जितेको छ । युभेन्टसले भने एक पटकमात्र उपाधि जितेको छ ।