भुवन केसीसँगको विवाद अघि साम्राज्ञी राज्य लक्ष्मी शाहलाई फिल्ममा अनुबन्ध गराउन निर्माताले राम्रै मेहनत गर्नुपर्थ्यो । तर, यो विवादपछि साम्राज्ञीले फिल्मको प्रस्ताव लिएर आउने निर्माता÷निर्देशकलाई नाइँ भन्न छाडेकी छिन् ।
पहिलो लकडाउनयता उनले सम्झौता गरेका फिल्मको सूचीले यही सङ्केत गर्छन् । यो बिचमा उनले कम्तीमा ४ फिल्मलाई आफ्नो समय उपलब्ध गराउने कबोल गरेकी छिन् । लकडाउनअघि नै साम्राज्ञीले हेमराज बिसीको फिल्म साइन गरेकी थिइन् ।
‘अशुभ विवाह’ वर्किङ टाइटल रहेको यो फिल्ममा प्रदीप खड्का र साम्राज्ञीको जोडी बाँधिने खबर थियो । लकडाउनका कारण यो फिल्मको सुटिङ भएन ।
तर, लकडाउनकै समयमा भुवन केसीसँग विवादमा परेपछि साम्राज्ञीले भटाभट फिल्म साइन गरिन् । उनले उस बेला सम्झौता गरेका फिल्म थिए, ‘रेड वाइन’बाट नाम परिवर्तन भएको ‘तिम्रो मेरो साथ’, मिलन चाम्सको अन टाइटल फिल्म, ‘अमेरिकन ब्वाइज’ निर्देशक प्रवेश पौडेलको नयाँ फिल्म र अहिले ‘ड्रिम्स’ निर्माता कपिल रिजालको निर्देशन रहने फिल्म । यी तीन वटै फिल्मको नाम टुङ्गो लागेको छैन । त्यसो त बिचमा साम्राज्ञीले सन्तोष सेनले निर्माण गर्न लागेको ‘हुतुतु’ पनि गर्न लागेको चर्चा थियो ।
साम्राज्ञीको डेब्यु फिल्म ‘ड्रिम्स’मा निर्माता रहेका कपिल रिजालले आफूले निर्देशन गर्ने फिल्मका लागि साम्राज्ञीसँगै जितु नेपाल र विजय बराललाई पनि अनुबन्ध गरेको खबर छ । लन्डनमा बस्दै आएका कपिल रिजाल निर्माता, गीतकार तथा स्त्रीरोग विशेषज्ञ भोला रिजालका छोरा हुन् । उनले लन्डनमा नै केही सर्ट फिल्मको निर्माण तथा निर्देशन गरेका छन् ।
नाम फाइनल भई नसकेको यो फिल्म स्थिति सहज भए भदौको दोस्रो साता फ्लोरमा जानेछ । दोस्रो लकडाउनअघि नेपालमा नै रहेका रिजालले पोखरा, पर्वतका केही ठाउँमा लोकेसन हेरिसकेका छन् ।