देशभर गम्भीर कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अस्पतालहरू भरिन थालेका छन् । अहिले काठमाडौँ उपत्यका सहित देशभरका अस्पतालहरूमा सङ्क्रमितको चाँप बढ्न थालेको छ ।
मुख्यतः काठमाडौँ उपत्यका भित्र रहेका शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल ललितपुर, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल लगायतमा वेड पाउन सकस हुने गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल अस्पतालमा आठ जना, वीरेन्द्र अस्पताल छाउनीमा आठ जना, वीर अस्पतालमा आठ जना, टेकु अस्पतालमा १७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ११ जना, पाटन अस्पताल ललितपुर मा तीन जना,निजामती कर्मचारी अस्पतालमा एक जना, धुलिखेल अस्पतालमा चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार देशभरका अस्पतालमा एक सय ८१ सङ्क्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, आठ सय दुई जना आइसियुमा उपचाररत रहेका छन् ।
प्रदेश एकमा एक सय ४१ जना आइसियु र ५२ जना भेन्टिलेटरमा, प्रदेश २ मा तीन जना आइसियुमा, बागमती प्रदेशमा पाँच सय १९ आइसियु र एक सय चार जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, गण्डकी प्रदेशमा ६५ जना आइसियु र दुई जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६० जना आइसियु र १७ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ६ जना आइसियुमा र एक जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा आठ जना आइसियु र पाँच जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यसअघि शनिवार एक सय ६९ जना भेन्टिलेटर र सात सय ४६ जना आइसियुमा उपचाररत रहेका छन् ।
गत शुक्रवार एक सय ५८ जना भेन्टिलेटर र सात सय ३२ जना आइसियुमा उपचाररत रहेका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार एक सय ५८ जना भेन्टिलेटरमा र सात सय १३ जना भेन्टिलेटरमा उपचाररत रहेका थिए ।
पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमितको सङ्ख्या १५ जिल्ला रहेका छन् । जसमा मोरङ,सुनसरी, झापा, काठमाडौँ, ललितपुर,भक्तपुर, चितवन,मकवानपुर, काभ्रेपलान्चोक,नुवाकोट,कास्की,गोरखा,रुपन्देही सुर्खेत, बागलुङ रहेका छन् ।
केहिदिनयता सङ्क्रमितको सङ्ख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न आग्रह गर्दै आएको छ । सङ्क्रमितको सङ्ख्या बढेसँगै जोखिम कायम रहेको छ ।