राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारबाट पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बुधबारदेखि पोखरामा टोलीको प्रशिक्षण हुने जनाएको हो ।
यसका लागि राष्ट्रिय टोलीका सदस्य र पदाधिकारीहरू १० दिनको बिदापछि मङ्गलबार पोखरा पुग्ने एन्फाले जनाएको छ । हाल नेपाली टोली दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप र एफएसी एसियन कप छनोटको अन्तिम चरणको खेलको तयारीमा छ ।
प्रशिक्षक अब्दुल्लाह अलुताइरीले टोलीमा प्रकाश बुढाथोकी र एरिक विष्टलाई समावेश गरेका छैनन् । उनीहरूको स्थानमा शिसिर लेखी र सेसेहाङ आङदेम्बेलाई टोलीमा राखेका छन् । यस्तै, गोलरक्षक विशाल सुनार पनि टोलीमा समावेश छन् ।
साफको तयारीमा रहेको नेपालले भदौ तेस्रो साता भारतको राष्ट्रिय फुटबल टोलीसँग दुईवटा मैत्रीपूर्ण खेल्ने छ । भारतबीचको खेल भदौ १७ र भदौ २० मा हुने एन्फाले जनाएको छ ।