कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) भोलिदेखि दोस्रो मात्रा दिन सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
एस्ट्राजेनेका खोप लगाउनकै लागि सरकारले काठमाडौंमा १४४ केन्द्र तोकेको छ । सबैभन्दा बढी केन्द्र काठमाडौं महानगरपालिकामा रहेको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रि बहादुर खड्का अनुसार काठमाडौं महानगरपालिकामा ३२ खोप केन्द्र राखिएको छ भने किर्तिपुर र नागार्जुन नगरपालिकामा १०-१० खोप केन्द्र, चन्द्रागिरी नगरपालिकामा १५, तारकेश्वर र टोखा नगरपालिकामा ११-११, दक्षिणकाली, गोकणेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकामा ९-९ र बुढानिलकण्ठ नगरपालिकामा १३ वटा खोप केन्द्र तोकिएको छ ।
आइतबारसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउन कायम गरिएका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेकाको खोप पनि लगाइने काठमाडौं स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरी, कार्यालयले स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने भन्दै अन्यथा गरिएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न कर्मचारीलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।