सरकारले भोलि सोमबारदेखि एक साता खोप सप्ताह मनाउँदै छ । खोप सप्ताहमा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका झन्डै १३ लाख ६५ हजार नागरिकलाई एस्ट्राजेनेका खोप उपलब्ध गराइनेछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिसिल्ड खोपको विकल्पमा एउटै प्रकृतिको खोप एस्ट्राजेनेका भएकाले सो खोप लगाउन लागिएको बताएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जापानबाट पाँच लाख १३ हजार र भुटानबाट तीन लाख मात्रा खोप प्राप्त भएको छ । साढे चार महिना अघि कोभिडविरुद्धको खोप कोभिसिल्ड लगाएकाहरूलाई सरकारले दोस्रो डोजको रूपमा एस्ट्राजेनेका लगाउने योजना बनाएको थियो ।
यस्तै, एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौँमा १४४ वटा खोप केन्द्र तोकिएको छ । सरकारले हिजो शनिवारदेखि मास्क अभियान सुरु गरिसकेको छ । मास्कको समुचित प्रयोगबारे सचेतना प्रवाह गर्न अभियान थालेको हो ।
मोरङको ग्रामथान गाउँपालिका–६ नेताचोकका हेमसागर पोखरेलले गत फागुनमा कोरोना भाइरसविरुद्धको पहिलो डोजको खोप लगाए । फागुनको पहिलो साता कोभिड शिल्डको पहिलो डोजको खोप लगाएको ६ महिना लाग्न आँटेको छ तर दोस्रो डोजको निर्क्यौल भएको छैन ।
कोभिड शिल्डपछि आएको भेरोसेल खोप लगाउनेले दोस्रो डोजसमेत पूरा गरिसकेका छन् । यस्तै, हालै सरकारले अनुदानमै ल्याएको सिङ्गल डोजको जोनसन एन्ड जोनसनको खोप लगाउनेको सङ्ख्या पनि बढ्दो छ । तर सबैभन्दा सुरुमा भारतबाट अनुदानमा पाएको कोभिड शिल्डको दोस्रो डोज पूरा लगाउन नपाएपछि पोखरेल जस्ता धेरै व्यक्तिहरू चिन्तामा छन् । सरकारले उनीहजस्तै साढे चार महिना अघि कोभिडविरुद्धको खोप कोभिसिल्ड लगाएकाहरूलाई दोस्रो डोजको रूपमा एस्ट्राजेनेका लगाउने योजना बनाएको छ ।
यता, स्वास्थ्यविद् भने खोपमा ‘मिक्स’ गर्नु घातक रहेको बताउँछन् । जनस्वास्थ्य विशेषज्ञ डाक्टर नवराज सुब्बा अनुसन्धानात्मक रिपोर्ट नआइकन त्यसरी खोपमा मिक्स गर्नु घातक रहेको बताउँछन् । विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकारका स्वास्थ्यविज्ञहरूको अनुमतिविना नै भिन्दाभिन्दै प्रकृतिका खोप प्रयोग गर्नु आफैँमा ‘एक्पेरिमेन्ट’ हुने उनको भनाइ छ ।