हालसम्म देशभर २२ लाख सात हजार नौ सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक करोड ६५ लाख जनालाई खोप लगाउने लक्ष्य लिएको छ ।
सरकारले लक्षित सबै नागरिकलाई खोप लगाउने योजना तयार गरिसकेको भन्दै खोप अभियानलाई तीव्र रूपमा अघि बढाएको जनाएको छ । जसअन्तर्गत एक करोड खोप नेपाल भित्रिएकोमध्ये हालसम्म २२ लाख बढिले खोपको पूर्ण मात्रा लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश एकमा दुई लाख १४ हजार आठ सय ५० जनाले, दुई नम्बर प्रदेशमा दुई लाख ८७ हजार तीन सय २८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।
यस्तै, बागमती प्रदेशमा नौ लाख १० हजार ६ सय ७५ जना, गण्डकी प्रदेशमा एक लाख ७७ हजार दुई सय ६, लुम्बिनी प्रदेशमा तीन लाख ८४ हजार एक सय ४२ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ७६ हजार तीन सय ७२ र सुदूरपश्चिममा एक लाख ५७ हजार तीन सय ८२ जनाले पूर्ण खोप लगाएका छन् ।
केहिदिनयता सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयले हेलचेक्र्याइँ नगर्न आम नागरिकलाई आग्रह गरेको छ । तर, बन्दाबन्दी खुकुलो भएसँगै अधिकांश नागरिकहरूले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा अटेरी गर्दै आएका छन् । जनस्वास्थ्य विज्ञहरूले भौतिक दुरी कायम, व्यक्तिगत सरसफाइ र मास्कको समुचित प्रयोगलाई ध्यान दिन सके कोरोना जोखिमबाट बच्न सकिने सुझाव दिएका छन् ।