कोरोनाको उच्च जोखिममा बालबालिका रहेका छन् । मुख्यतः बालबालिकामा कोरोना विरुद्ध खोप प्रयोगमा नआउँदा र अन्य उमेर समूहभन्दा बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले बालबालिका जोखिममा रहेको बाल रोग विशेषज्ञहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म १६ हजार भन्दा धेरै बालबालिकामा सङ्क्रमण भएको छ । अहिले अधिकांश बालबालिकाहरू घरमै छन् । सरकारले निषेधाज्ञा खुकुलो गराए पनि विद्यालयहरूमा भौतिक उपस्थिति सहितको पठनपाठन भएको छैन ।
हाल १८ वर्षमुनिका बालबालिकाहरूलाई कुनै खोप सिफारिस गरिएको छैन । कान्ति बाल अस्पतालका पूर्व निर्देशक प्रा.डा.आर.पी.बिच्छाले कोरोनाको जोखिममा बालबालिका रहेको बताए । डा. विच्छाका अनुसार बालबालिकामा भ्याक्सिन प्रयोगमा नआएको र युवा अवस्थाको तुलनामा बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनीहरू जोखिममा छन् ।
–घरमा आवतजावत र भिडभाडको वातावरण सृजना नगर्ने
– सफा पानी प्रशस्त मात्रामा पिउने
–जनस्वास्थ्यका मापदण्ड पालना गर्ने/गराउने
–स्तनपान गराउने उमेरसम्मका बच्चालाई निरन्तर स्तनपान गराउने
–प्रशस्त मात्रामा पोषणयुक्त खाना खुवाउने
–बाहिरबाट फर्केपछि बालबालिकासँग सम्पर्कमा रहँदा सतर्कता अपनाउने
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले बालबालिकाहरूका लागि शय्या छुट्टाउन निर्देशन दिइसकेको बताए । बालबालिकाहरूलाई सङ्क्रमणबाट जोगाउन अभिभावक नै जिम्मेवार हुनुपर्ने भन्दै यदि आवतजावत बढी हुने भएमा बालबालिकासँग भेट्दा मास्कको समुचित प्रयोग गर्नुपर्ने हुन्छ । डा. पौडेलले बालबालिकाहरूका लागि एक सय ८० भेन्टिलेटरसहितको दुई सय ७५ वटा आइसियु निर्माण कार्य अघि बढाइएको बताए ।
बाल रोग विशेषज्ञ चिकित्सकहरूको सङ्गठन नेपाल पेडियाट्रिक सोसाइटीले अति आवश्यक काममा बाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भिडभाडमा नलैजान अनुरोध गरेको छ । यस्तै केही गरी जान परेमा स्वास्थ्यका मापदण्डहरू अपनाउन आग्रह गरेको छ ।
सार्वजनिक वा अन्य साधनबाट यात्रा गर्दा जनस्वास्थ्यका मापदण्ड पुरा गर्न अभिभावकलाई अनुरोध गरेको छ । यस्तै, बालबच्चामा कुनै समस्याहरू देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीहरूबाट सल्लाह लिन अपिल गरेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलले बालबालिकाका लागि कोरोना विरुद्ध खोपको विकास अझै नभएकाले उनीहरू जोखिममा रहेको बताए । उनले बालबालिकालाई जोगाउन अभिभावक सचेत र सजग हुनुपर्ने बताए ।
बाल रोग विशेषज्ञहरूका अनुसार संसारमा कतै पनि बच्चाहरूमा खोप नलगाइएकोले बच्चामा संक्रमणदर बढी हुन्छ । अभिभावकले भ्याक्सिन लगाएको भए पनि अब कोरोना लाग्दैन भन्ने भ्रम पाल्न नहुने भन्दै जनस्वास्थ्य विज्ञहरूले अभिभावक आफूले खोप लगाए पनि बच्चालाई बचाउन विभिन्न सावधानी अपनाउनु जरुरी रहेको बताउँछन् ।