सरकारले आगामी मङ्सिरसम्म २९ हजार ७८ जनामा कोरोनाका जटिल सङ्क्रमित थपिने प्रक्षेपण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउनमा सात हजार नौ सय ९६, भदौमा ६ हजार आठ सय ५९, असोजमा पाँच हजार सात सय ९०, कार्तिकमा चार हजार ६ सय ५७ र मङ्सिरमा तीन हजार सात सय ७७ जनामा जटिल सङ्क्रमण देखा पर्ने प्रक्षेपण गरेको हो ।
यस्तै मङ्सिरसम्म थप एक लाख ९३ हजार आठ सय ५६ जनामा कोरोना सङ्क्रमण हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले केटिएम दैनिकलाई बताए । स्वास्थ्य मन्त्रालयले नेपालमा भदौदेखि क्रमशः कोरोना सङ्क्रमित घट्दै जाने अनुमान गरेको छ ।
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीका अनुसार साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५ सय ९७, कात्तिकमा ३१ हजार ४४ र मङ्सिरमा २५ हजार १८३ जना नयाँ कोरोना सङ्क्रमित थपिनेछन् । यस्तै, मङ्सिरसम्म ९ हजार ६ सय ९३ जना गम्भीर बिरामी पर्ने र उनीहरूलाई सघन उपचार आवश्यक पर्ने डा.लोहनीले बताए ।
केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । सरकारले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भन्दै जनस्वास्थ्यका मापदण्डहरू कार्यान्वयन गर्न आग्रह गर्दै आएको छ । हिजो बुधवार मात्रै ४२ दिनयता सबैभन्दा धेरै चार हजार एक सय सात सङ्क्रमित थपिएका थिए । यस्तै, एकै दिन बुधवार ३५ जनाको मृत्यु भएको थियो ।