अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आज स्पेनिस क्लब बार्सिलोनासँग सम्झौता नवीकरण गर्ने भएका छन् । सम्झौता नवीकरण गर्नकै लागि बुधबार बार्सिलोना फर्किएका ६ पटकका बालोन डी‘ओर विजेता मेस्सीले आज सम्झौता थप्न लागेका हुन् ।
कोपा अमेरिकाको उपाधि जितेपछि बिदामा रहेका मेस्सीले इबिजामा छुट्टी मनाएका थिए । त्यसपछि हिजो बार्सिलोना आइपुगेका उनले आज सम्झौता नवीकरण गर्ने स्पेनिस मिडिया मार्काले लेखेको छ ।
उनी तीन साताअघि नै बार्सिलोना पाँच वर्षे सम्झौता गर्न समहत भएका थिए । सन् २००४ यता बार्सिलोनाबाट खेल्दै आएका मेस्सीको सम्झौता ३० जुनबाट सकिएको थियो । सम्झौता सकिएको दुई सातापछि मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै बस्न सहमत भएका थिए ।
३४ वर्षीय मेस्सी ५० प्रतिशत तलब कटौती गर्ने विषयमा पनि सहमत भएको जनाइएको छ । सम्झौतामा हस्ताक्षर भएपछि मेस्सी प्रशिक्षणमा समेत फर्किनेछन् ।