वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी गरेको छ ।
विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले यसका लागि कामदार छनौट गर्ने विषय अघि बढेको बताए ।
निर्देशक भट्टराईले केही दिनमा सूचना जारी गरेर यस विषयमा जानकारी दिने तयारी भएको बताएका हुन् ।
त्यस्तै विभागका अर्का निर्देशक डम्बरबहादुर सुनुवारले इजरायल जान चाहने कामदारको लागि सोमबार वा मंगलबार सूचना सार्वजनिक गर्ने जानकारी दिए ।
उनका अनुसार सूचना जारी भएको २१ दिनपछि परीक्षा लिने मिति राष्ट्रिय दैनिक र वैदेशिक रोजगार विभागमा सार्वजनिक गरिनेछ ।
सूचनामा काम गर्ने समय, कामदारको योग्यता, तलब र इजलायलको कानुनी व्यवस्थाबारेमा जानकारी राखिनेछ भने परीक्षा अंग्रेजी भाषामा हुने उनले बताए ।
त्यसपछि अन्तर्वार्ता लिएर अन्तिम योग्यता सूची तयार गर्ने र उक्त सूची इजरायलको पीआईबीएलाई पठाउने र विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्ने उनले बताए ।
उनका अनुसार त्यसपछि भिसा प्रक्रियाको काम अगाडि बढ्छ । नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताको आधारमा स्याहार केन्द्रमा एक हजार नेपाली कामदार माग भएको छ ।
विभागमा माग गएको उक्त कामदारमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको रहेको निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिए ।