नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् ।
शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै ओलीलाई महाराजधिराजको सज्ञा दिएका हुन् ।
उनले भने, ‘हिजो महाराजधिराजबाट आदेश आयो, माधव कुमार नेपाल लगायतलाई सबैलाई आम माफी दिएँ । के त्यही हो कम्युनिष्ट आदर्श ?’
नेता नेपालले आफूहरुलाई स्पष्टीकरण सोध्नु गल्ती भएको अध्यक्ष ओलीले स्वीकार गर्नुपर्ने बताएका छन् । उनले अघि भनेका छन्, ‘स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें । अब फिर्ता लिएको छु भनिदिएको भए हाइट घट्थ्यो ?’
ओलीतर्फ संकेत गर्दै बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम नभएको उनले बताए । नेताहरुले एकतामा असर पर्ने केही नबोल्न आग्रह गरेको र आफूले पनि ओली सुधिएलान् कि भनेर आफू जोगिएर बोल्ने गरेको नेता नेपालले सुनाए ।
उनले एकतामा असर पुग्ला भनेर आफूले बिहीबारका २ कार्यक्रममा ख्याल गरेर बोलेको बताए । भक्तपुरमा पिपुल्स भोलिन्टियर गठन गर्दा आफूले कार्यकर्तालाई बाँदर बनेर नहिँड्न निर्देशन दिएको पनि बताए ।