नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् । उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।
माले विवाद समाधान कार्यदलमा नेपाल पक्षबाट संयोजकसमेत रहेका रावलसहितको कार्यदलले एकताका लागि १० बुँदे सहमति गरेको प्रति नेता नेपालले असन्तुष्टि व्यक्त गरेसँगै सांसद पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि साउन ३ गते प्रतिनिधि सभा बैठक बस्नुअघि उनले राजीनामा दिएका थिए।
पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । रावल अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचित भएका थिए । उनी एमालेले गठन गरेको विवाद समाधान कार्यदल सदस्य थिए ।
राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले रावललाई आग्रह गर्दै आएका थिए । एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए भने माधव नेपालले पनि आग्रह गर्दै आएका थिए।