शुक्रबार सर्वोच्च अदालतमा शपथ लिएका नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण कोरोनाको कारण शीतलनिवासमा हुन नसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले कोरोना महामारीका कारण राष्ट्रपतिको उपस्थितिमा हुनुपर्ने भन्ने व्यवस्था भएको बाहेक अन्य सपथग्रहण अन्यन्त्रबाटै गराउन यसअगाडि नै पत्रचार भैसकेको जनाएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ महामारीलाई मध्यनजर गर्दै राष्ट्रपतिको उपस्थितिमा हुनुपर्ने भनी व्यवस्था भएकोमा बाहेक प्रधानन्यायाधीश ज्युबाट ग्रहण गराउने पदाधिकारीको शपथ ग्रहण सर्वोच्च अदालतबाटै आयोजना हुने व्यवस्थाका लागि मिति २०७८–०१–५ गते पत्रचार गरिएको हो ।’
राष्ट्रपतिको समुपस्थितिमा शपथ ग्रहण हुनुपर्ने भनी व्यवस्था भएका बाहेक उक्त मिति पश्चात नियुक्ति भएका अन्य संवैधानिक अङ्ग लगायतका पदाधिकारीहरूको शपथ ग्रहण सम्बन्धित निकायका पदाधिकारीबाट हुँदै आएको समेत स्पष्ट पारिएको विज्ञप्तीमा जनाइएको छ ।
सपथ कार्यक्रम राष्ट्रपतिको कार्यालयमा नभएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित–प्रसारित समाचारप्रति समेत गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत् भनिएको छ ।