प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको कानूनी सल्लाहकार अर्थात महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । खातीलाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको सूचनामा बताइएको छ ।
खाती नेपाली कांग्रेस निकटका कानून व्यवसायी हुन् । बाजुरा घर भएका अधिवक्ता खाती नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत हुन् ।
निर्वतमान केपी शर्मा ओली सरकारको महान्यायाधिवक्ता रमेश बडालले असार २९ गते राजीनाामा दिएपछि उक्त पद खाली थियो । बडाल गत चैत ६ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए। सोही दिन अग्नी खरेलले महान्यायाधीवक्ताबाट राजीनामा दिएपछि बडाललाई नियुक्तीका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो।
नेपालको संविधान २०७२ को धारा १५७ ले महान्यायाधिवक्ताको बारेमा सपष्ट बोलेको छ । संविधानअनुसार नेपालमा एकजना महान्यायाधिवक्ता हुनेछन् । उनलाई प्रधानमन्त्रीले चाहेको अवधिसम्म पदमा राख्न पाउनेछन् । सर्वोच्च अदालतको न्यायधीश हुने योग्यता भएको व्यक्ति महान्यायाधिवक्ताको पदमा नियुक्तिको लागि योग्य हुनेछ ।