नेपाली काँग्रेसका युवा नेता गगन थापाले राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने जोसुकैलाई एक रुपैयाँ पनि निकाशा दिन नमिल्ने दाबी गरेका छन्। पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले शनिबार सामाजिक सञ्जालमार्फत कानुन लागू भइसक्दा पनि सरकार यसको उल्लंघनमा लागेको आरोप लगाएका हुन्।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको भारतमा लागेको उपचार खर्च सरकारले तिर्ने निर्णय सार्वजनिक भएसँगै उनले विरोध जनाएका हुन्। थापाले कानुन नबनेसम्म राज्यकोषबाट उपचार खर्च दिने काम बन्द नहुने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा कानुन संशोधन गर्न लागि परेको स्मरण गरेका छन्।
‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भन्ने संशोधन प्रस्ताव राखेँ। यो संशोधन संसदले स्विकार्दै बनेको कानून २०७५ असोज २ गतेदेखि लागूभयो।’उनले लेखेका छन्,‘कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन। प्रधानमन्त्रीज्यू अब भन्नुस् पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो?’
थापाले प्रधानमन्त्रीको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम नरोकिएको भन्दै विरोध जनाएका हुन्। उनले लेखेका छन्,‘उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो। यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ। तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन।’