नेकपा एमालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पुर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटेका छन् ।
बिरामी भएर नर्भिक अस्पतालमा उपचाररत खनाललाई भेट्न पोखरेल बुधवार बिहान पुगेका हुन् ।
उनले खनालको स्वास्थ्य अवस्थाको बारे जानकारी लिए । भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड !’ भनेर आग्रह गरेका थिए । पोखरेलले ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं!’ भनेर जवाफ फर्काएको बताइएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ ।
उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।
ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।