जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पोखरामा पनि ओली भाइरस सल्केको टिप्पणी गरेका छन्।
गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुनः मुख्यमन्त्रीको दाबी गरेपछि भट्टराईले सामाजिक सञ्जालमार्फत ‘ओली भाइरस पोखरामा पनि सल्केको’ टिप्पणी गरेका हुन्। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो भन्दै उनले त्यसको प्रतिवादमा एकजुट हुन अपिल गरेका छन्।
‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं। ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं ! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं !’ भट्टराईले लेखेका छन्।
गण्डकी प्रदेशमा पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुनः मुख्यमन्त्रीको दाबी गरेपनि उनी मुख्यमन्त्री हुन सकेनन् । गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गरेका थिए । गुरुङले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपा प्रदेश कमिटीको पत्रसहित दावी गरेतापनि नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
*सच्चाइएको