राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अचानक संविधानको धारा ७६ (५) अनुसारको सरकार गठन प्रक्रिया सुरु गरेर अर्को असंवैधानिक कदम चालेपछि नेपाल विद्यार्थी संघले त्यसको विरोध गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमको विरूद्धमा नेपाल विद्यार्थी संघले राष्ट्रपति कार्यालय अगाडी विरोध प्रदर्शन गरेको हो ।
उक्त विरोध प्रदर्शनको क्रममा ने.वि.संघका नेताहरू नरेश विष्ट र श्याम ओझालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले पक्राउ परेको नेताहरुको अविलम्भ रिहाईको माग गरेका छन् । केटिएम दैनिकसँग कुरा गर्दै भट्टराईले भने “हाम्रा साथिहरु पक्राउ पर्नुभएको छ । उहाँहरुको अविलम्भ रिहाईको माग गर्दछु । अन्यथा यो असहज परिस्थितिमा पनि हामी आन्दोलित हुन बाध्य हुनेछौं ।”
संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री बनेका ओलीले विश्वासको मतमा पराजित भएमा वा राजीनामा गरेमा मात्र धारा ७६ (५) को प्रक्रिया सुरु हुनुपर्छ। अचानक बिहीबार मन्त्रिपरिषद् बैठक बसाई नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न प्रधानमन्त्री ओलीले गरेको सिफारिस सदर गर्दै राष्ट्रपति भण्डारीले शुक्रबार अपराह्न ५ बजेभित्र सरकार दाबीका निम्ति गरेको आह्वानलाई संविधानमाथिको अर्को आक्रमणका रूपमा लिइएको छ।
राष्ट्रपतिको आह्वानपछि अहिले प्रधानमन्त्री ओली र विपक्षी गठबन्धन दुवै प्रधानमन्त्री आफ्नो दावी पेश गर्न शीतलनिवास पुगेका छन् ।