विराटनगरस्थित कोसी अस्पतालले सञ्चालन गरेको कोभिड उपचार केन्द्रका संयोजक हुन्, डाक्टर दीपक सिग्देल । पूर्वी नेपालमा आफूलाई अब्बल चिकित्सकको रूपमा स्थापित गर्न सफल डा. सिग्देलले दोस्रो पटक कोसी कोभिड अस्पतालको नेतृत्व गरिरहेका छन् ।
यसअघि पहिलो लहरको कोरोना महामारीका बेला पनि उनै डा. सिग्देलले कोसी कोभिड अस्पतालको नेतृत्व गरेका थिए ।सफल नेतृत्वकै कारण दोस्रो लहरको कोरोना महामारीमा पनि उनकै काँधमा आएको छ प्रदेश १ को कोरोनाविरुद्धको एउटा लडाइँको मोर्चा सम्हाल्ने जिम्मेवारी ।
पहिलो लहरको कोरोना महामारीमा नेतृत्व गरेका कारण यो पटक अरू कसैलाई नेतृत्व गर्न दिने डा सिग्देलको तयारी थियो । तर सबैले अनुभव सङ्गालेको भन्दै डा सिग्देललाई नै कोसी कोभिडको नेतृत्व सुम्पिए । अनि उनले तीन जनाको कोर ग्रुप बनाए । क्रिटिकल केयर रुपेश गामी र संयोजकका रूपमा डाक्टर डेनप्रसाद आचार्यसहितको टिम बनाएर सिग्देल अगाडि बढिरहेका छन् ।
कोसीको कोभिड अस्पतालमा कोरोना सङ्क्रमितको उपचार ९६ वटा बेड भएको नयाँ सुविधासम्पन्न भवनमा गरिरहेको छ । यसै साता मात्र पुरानो भवनबाट नयाँ एचडीयु भएको भवनमा बिरामी सारिएको हो । जसमा ८४ वटा अक्सिजनसहितको बेड छन् भने १३ वटा अक्सिजनविहीन शैय्या छन् । तथापि ननअक्सिजनमा कुनै पनि बेला पोर्ट जोड्ने व्यवस्था मिलाइएको छ । यस्तै २० वटा भेन्टिलेटर छन् । यसमा जुनसुकै बिरामीलाई पनि राख्न सक्ने व्यवस्था छ ।
हाल कोसी कोभिडमा ४५ सङ्क्रमित उपचाररत छन् । ती सबैलाई अक्सिजनको आवश्यता छ । अक्सिजन नचाहिने बिरामीलाई भने कोसी कोभिडले भर्ना लिँदैन । उनीहरू गेटैमा परामर्श दिइ घर फर्काइन्छ । अक्सिजन रिक्वायरमेन्ट नभएका बिरामीलाई होमआइसोलेसनमा बसेर उपचार गर्न सुझाइन्छ । किनभने अरू गम्भीर बिरामीले उपचार नपाउने सम्भावना हुँदा उनीहरूलाई परामर्श दिइ घर फर्काइन्छ ।
‘यहाँ भर्ना हुने बिरामीले पिसिआर रिपोर्ट नेगेटिभ नभइ घर नजाने अडान राख्नुहुन्छ, यसैले पनि हामीले हाम्रो नीति परिवर्तन गरेका हौँ’, डा सिग्देलले केटिए दैनिकसँग भने, ‘डबल भेरियन्टको कोभिड निको हुन समय लाग्छ । यसैले अक्सिजन चाहिने बिरामीलाई मात्र भर्ना लिने गरेका छौँ ।’ आइसियुमा भर्ना भएका बिरामीलाई पिसिआर परीक्षण गरेर आठ दिनमा घर पठाइने र एचडियु वा जेनरल बेडका बिरामीलाई लक्षण हराएपछि डिस्चार्ज गरिने उनले बताए ।
गत चैत २५ गतेबाट अस्पतालले दोस्रो लहरका सङ्क्रमित राख्न थालेको हो । हालसम्म अस्पतालमा कम्तिमा ३० देखि ३२ जनाभन्दा सङ्क्रमित घटेको अवस्था छैन ।
नयाँ ढाँचामा काम
पहिला भने ७ दिनसम्म ड्युटीमा रहेका स्वास्थ्यकर्मी १४ दिन क्वारेन्टाइनमा गएर बस्ने गरेका थिए । थप सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम थियो । यसरी २१ दिनमा उनीहरू पुनः आफ्नो काममा फर्किन्थे । तर, यसपटक सरकारले कोरोना सङ्क्रमितको उपचार गर्ने स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था छैन । जनशक्तिको अभावका कारण क्वारेन्टाइनको व्यवस्था गर्न नसकिएको डा. सिग्देलको भनाइ छ ।
क्वारेन्टाइन नभएका कारण चिकित्सकलाई जोखिम हुन्छ । कोसीले कोभिडविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई लक्षण देखिएमा पिसिआर परीक्षण गर्ने र पोजिटिभ आएमा छुट्टीमा जाने तथा क्रिटिकल अवस्था आएमा त्यही उपचार केन्द्रमा राखेर उपचार गर्ने गरेको छ ।
हाल कोसीमा जनशक्तिको हिसाबमा माग गरेको भन्दा कम १२ जना मेडिकल अफिसर छन् । एक सिफ्टमा तीन जना अफिसरले काम गर्छन् । उनीहरूले आठ–आठ र १२ घण्टा गरेर तीन सिफ्टको ड्युटी हुन्छ । र, तीन दिन काम गरेपछि एउटा सिफ्टको एक दिन छुट्टी हुन्छ । स्टाफ नर्स २४ जना छन्, चार जना एचए, कार्यालय सहयोगी चार जना छन् । एउटा सिफ्टमा १९ जनाको टिम छ, जसको नेतृत्व फिजिजियन तथा क्रिटिकल टिमले गर्छन् । र, ती सबैको नेतृत्वचाहिँ डा. सिग्देलले गर्छन् ।
प्रत्यक्ष अवलोकन, जोखिम बढी
पहिलो लहरका क्रममा चिकित्सकको टिमले मनिटरबाट बिरामी हेर्ने काम गर्थ्यो तर अहिले बिरामीको अवस्था गम्भीर हुने भन्दै प्रत्यक्ष (भित्रै छिरेर) उपचार गर्छन् । ठूला कोठा र अक्सिजनको मात्रा हेर्नुपर्ने भएका कारण पनि चिकित्सकले प्रत्यक्ष उपचार गर्नुपर्ने उनको भनाइ छ । यसबाट स्वास्थ्यकर्मीमा थप जोखिम हुने डा सिग्देल बताउँछन् ।
‘स्वास्थ्यकर्मीलाई जोखिम हुने भएका कारण पनि क्वारेन्टाइनको व्यवस्था गर्न हामीले माग गरेका हौँ’, उनले भने, ‘हामीलाई लाग्छ सरकारले हाम्रो माग सुनुवाई गर्नेछ । त्यसबाहेक प्रदेश सरकारले ५० प्रतिशत जोखिम भत्ता दिने बताएको छ । अरू ५० प्रतिशतचाहिँ केन्द्रीय सरकारबाट हामीले अपेक्षा गरेका छौँ ।’
डाइपर्ड नलगाइ काम गर्न सकिँदैन
कोरोना महामारीविरुद्धको लडाइँमा स्वास्थ्यकर्मी योद्धा हुन् । उनीहरूले परीक्षणमा मात्र होइन कोरोना सङ्क्रमितको उपचारमा पनि योद्धाका रूपमा रहेर काम गरिरहेका छन् । आफूलाई बिर्सेर पनि सङ्क्रमितलाई निको बनाउन लागिपरेका चिकित्सकले काम चर्को छ । आठ घण्टाको ड्युटी अवधिभर पिपिई, मास्क, पञ्जा, बुटजुत्ता लगाउनु उनीहरूको बाध्यता हो । अझ, सो समयअवधिभरि उनीहरू डाइपर्ड लगाएर खटिन्छन् ।
‘डाइपर्ड नलगाइ काम गर्न सकिँदैन । आठ घण्टामा मानिसलाई कमसेकम दुई वा तीन पटक दिसा–पिसाब लाग्छ । र त्यो पिपिईमा असम्भव छ । यसैले सङ्क्रमितको उपचारमा खेटिएका डाक्टरले डाइपर्ड लगाउनैपर्छ । पिपिईले दिनभरि पोलेर हैरान पारेको हुन्छ, पञ्जा धेरै लगाएर छाला मरिसकेको हुन्छ ।’
यसैले चिकित्सकलाई कठिनाइ नहोस् भने सिग्देलले आलोपालो ड्युटी गर्ने मेलोमेसो बनाएका छन् । सङ्क्रमितलाई कठिन नपरेको अवस्थामा आलोपालो ड्युटी गरे पनि बिरामीलाई गाह्रो भएको अवस्थामा भने सबै भित्र पस्नुपर्ने उनले बताए ।
क्वारेन्टाइन नभएर स्वास्थ्यकर्मी सङ्क्रमित
प्रत्यक्ष अवलोकन गर्नुपर्ने भएका कारण स्वास्थ्यकर्मी सङ्क्रमित हुने जोखिम पनि उत्तिकै छ । कोसी कोभिड उपचार केन्द्रमै खटिएका डाक्टरहरू पनि सङ्क्रमित बनेका छन् । डा सिग्देलले नेतृत्व गरेकै टिमका दुई जना चिकित्सक सङ्क्रमित बने । उनीहरू दुवैले दुवै डोजको खोप लगाएका थिए ।
‘कोरोना सङ्क्रमित हुने स्वास्थ्यकर्मीको दर पनि बढ्छ किनकि क्वारेन्टाइन छैन, ड्युटी आवर धेरै छ अनि यो भेरियन्ट बढी सङ्क्रामक पनि छ’, उनले भने, ‘तथापि, भ्याक्सिन लगाएका कारण त्यती गम्भीर नबनाउला भन्ने आशा छ ।’
फेरिएको दैनिकी
डा सिग्देलले कोरोना भाइरसविरुद्धको दुवै चरणको खोप लगाएका छन् । उनकी श्रीमतीले पनि खोप लगाएकी छन् । तर उनीहरूसँगै बस्दै आएकी छोरी भने १५ वर्षभन्दा मुनिको भएका कारण खोप लगाएकी छैनन् । एक छोरा अध्ययनका क्रममा काठमाडौँमै छन् । हाल डा सिग्देल अस्पतालले दिएको क्वार्टरमा बस्दै आएका छन् । जसमा दुई वटा कोठा छन् । एउटामा उनी बस्छन् भने एउटामा श्रीमती र छोरीलाई राखेका छन् । परिवारलाई कोरोनाबाट जोगाउन उनी लागिपरेका छन् ।
डाक्टर सिग्देलबाट घरमा छोरीलाई निकै जोखिम हुन्छ । यद्यपि, घर–परिवारलाई कोरोनाबाट जोगाउन सतर्कता अपनाइरहेका छन् । उनले त्रासलाई अवसरमा बदलेर जतिसक्दो धेरै आफ्नो दैनिकी कोरोनाविरुद्धको अभियानमा केन्द्रित पनि गरेका छन् । कोरोनाले उनको दैनिकी भने फेरिएको छ । उनी बिहान ८ बजे सङ्क्रमितको उपचारमा निस्कन्छन् । उपचार सकेर फर्कंदा रातको ९–१० बज्छ ।
‘घर फर्किँदा निःसङ्क्रमण भएर जान्छु । अनि आफू कति घण्टा एक्पोज भएको छु, पिपिई च्यातिएको छ कि छैन त्यस्ता कुरा ख्याल गर्नुपर्छ’, उनले भने, ‘परिवारलाई सङ्क्रमण जोगाउनका लागि गाह्रो छ । यसैले हामीले क्वारेन्टाइनको माग गरेका हौँ । अघिल्लो लहरमा व्यवस्था थियो अहिले पनि होस् भन्ने हाम्रो चाहना हो ।’
आफनोभन्दा बढी बिरामीको चिन्ता गरेर निर्भिकतासाथ कोरोनाविरुद्धको युद्धमा होमिएका उनी कोराना अस्पतालमा उपचाररत सङ्क्रमितको उपचारमा खटिएपछि बाँकी समय कोसी अस्पतालमा पुगेर त्यहाँ आएका बिरामीको सेवामा पनि जुट्ने गर्दछन् ।
सामाजिक विभेदीकरण छैन
पहिलो लहरमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका चिकित्सकले सामाजिक विभेदीकरण बेहोर्नुपरेको थियो । घरबेटी वा गाउँसमाजमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ‘कोरोना बोकेर आयो’ भनेर घर–कोठा छोड्न बाध्य बनाइन्थ्यो । यसपटक भने त्यस्ता दुर्व्यवहार नभएको डा सिग्देलको भनाइ छ ।
उनले भने, ‘अहिले कोरोना सङ्क्रमित नभएको घर छैन । धेरैले कोरोनालाई नजिकबाट नियालिसकेका छन् । यसैले पनि स्वास्थ्यकर्मीलाई दुर्व्यवहार भएका घटना थाहा छैन । अनि अबको केही साताभित्र त कुनै पनि घर छुट्दैनन् होला सायद ।’
भयावह बन्ने सम्भावना धेरै
बढी सङ्क्रामक तथा निको हुनेक्रममा ढिलाइ हुने भएका कारण डबल भेरिन्ट कडा भएको डा सिग्देलको भनाइ छ । लक्षण देखिएको एक–दुई दिनभित्रै सङ्क्रमितलाई गाह्रो हुने अवस्था भएका कारण नयाँ बिरामीलाई भर्ना गर्न नसकिएको उनी बताउँछन् । अबको दुई सातापछि भयावहको अवस्था आउनसक्ने उनले बताए । निको हुनेको अनुपात घट्दा मृत्युको अनुपात भने बढेको बताउँदै उनले हालसम्ममा आफ्नै अगाडि १७ जना सङक्रमितको ज्यान गएको सुनाए ।
‘मलाई यकिन तथ्याङ्क थाहा नहोला तर १७ जनाले यहाँ ज्यान गुमाइसके । आफ्नै अगाडि सङ्क्रमितले ज्यान गुमाउँदा चिकित्सकलाई मानसिक रूपमा प्रभाव पार्छ’, उनले भने, ‘कहिलेकाहीँ गम्भीर प्रकृतिका बिरामी भर्ना गरिन्छ र मृत्यु भएमा डाक्टरलाई दोष लगाइन्छ । यसले पनि हामीलाई प्रभाव पारिरहेको हुन्छ ।’