प्रधानमन्त्री केपी शर्मा ओली बुधवार अपराह्न दलबद्धसहित बुढानीलकण्ठ पुगे । काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न ओली अपराह्न बुढानीलकण्ठ पुगेका हुन् । २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिन तम्सिएका प्रधानमन्त्री ओली विश्वासको मत माग्न बालुवाटारबाट सिँधै बुढानीलकण्ठ पुगेको स्पष्टै छ ।
विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को विशेष अधिवेशन नै आह्वान गरिसकेकी छन् । यो बेला ओलीलाई सङ्कट पनि कस्तो परेको छ भने आफ्नै पार्टीका केही सांसदले साथ नदिने भय छ । एमालेकै माधवकुमार नेपाल समूहका सांसदले उनलाई मत नदिने सम्भावना पनि उत्तिकै छ ।
यस्तो अवस्थामा उनलाई साथ दिने भनेकै जसपाका महन्थ ठाकुर देखिएका छन् । उनी पनि स्पष्ट रूपमा खुलेरै आएका छैनन् । तर, नेपाल पक्षले मत नदिएको अवस्थामा महन्थको साथले पनि ओलीको सत्ता जोगिँदैन । विपक्षमा काँग्रेससहित माओवादी र जसपाको बाबुराम–उपेन्द्र पक्ष एक हुन थालेका बेला ओली देउवा कहाँ पुगेका हुन् । माओवादी केन्द्रले समर्थन नरहेको विधिवत् जानकारी गराएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
को–को थिए भेटमा, के भयो कुराकानी ?
एमाले अध्यक्षसमेत रहेका ओलीसँगै बुढानीलकण्ठ पुग्नेमा उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल पनि थिए ।
त्यस्तै काँग्रेसका तर्फबाट सभापति देउवासँगै रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र प्रकाशशरण महत सहभागी भएका थिए ।
दुई पार्टीका शीर्ष नेताहरूबिच करिब एक घण्टा कुराकानी भएको थियो । कुराकानीको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले काँग्रेस र एमाले नमिलेसम्म संसद्ले नयाँ सरकार दिने सम्भावना नरहेकाले स्मरण गराए ।
प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन देउवासँग प्रस्तावसमेत गरे । तर देउवाले त्यसलाई ठाडै अस्वीकार गरे । काँग्रेस सह महामन्त्री प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै सहकार्यको प्रस्ताव पनि गरेका थिए । तर सभापति देउवाले प्रधानमन्त्री ओलीको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताए ।
‘प्रधानमन्त्रीज्यूले विश्वासको मत दिन आग्रह गर्नुभयो’, डा. महतले भने, ‘सहयोग गर्न नसक्ने कुरा हामीले राख्यौँ ।’ छलफलमा कोभिड नियन्त्रण गर्न प्रभावकारी काम गर्न नसकेको, नागरिक उपचार नपाएर अक्सिजन, बेड नपाएर पीडामा रहेको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको काँग्रेसले जनाएको छ ।
दाहाल पनि निरन्तर देउवाकै दैलामा
२०७४ सालको निर्वाचनमा काँग्रेसले अप्रत्याशित हार बेहोर्नुपर्यो । संसद्मा सानो सङ्ख्यामा काँग्रेस देखियो । निर्वाचनमा अप्रत्याशित हार बेहोरेपछि सभापति देउवाको पार्टीभित्रै व्यापक आलोचना भयो । नैतिकताका आधारमा राजीनामा दिनुपर्नेसम्मका कुरा पार्टीभित्रै उठे । तर, देउवा डगमगाएनन् । उल्टै प्रतिवाद गर्दै गए । पराजयको कारण बाम गठबन्धनलाई देखाएर उम्किए । बिस्तारै पराजयको बहस सेलाउँदै गयो ।
बाम गठबन्धन बनाएर चुनावमा गएका एमाले र माओवादीले पार्टी एकीकरण गरे । करिब दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार बन्यो । दुई वर्षसम्म अवस्था ठिकठाकजस्तै थियो । । सभापति देउवामाथि प्रतिपक्षको समेत भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरह्यो । कतिपय अवस्थामा सत्तासँगै भागबन्डामा भाग लिएको आरोपसमेत लाग्यो ।
तर, दुई वर्षपछि तत्कालीन नेकपामा रडाको सुरु भयो । तीन वर्ष नपुग्दै नेकपा रडाकोले उत्कर्ष सुरु भयो । अनि सुरु हुन थाल्यो काँग्रेस सभापति देउवाको । नेकपा एक हुँदै एक जना अध्यक्ष पुष्पकमल दाहालले देउवालाई पटक पटक भेटे । सर्वोच्च अदालतको एउटा फैसलाले नेकपा एकता खारेज भयो । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिए । त्यसपछि त झन् देउवा निर्णायक भएरै निस्किए । प्रतिनिधि सभा विघटन गरेका ओलीको निर्णय अदालतले बदर गरिदियो ।
तर, उनलाई सत्ताबाट हटाउन भने उनीइतरले अहिलेसम्म सकेका छैनन् । माओवादी अध्यक्ष दाहालले पटक पटक देउवालाई भेटेर सत्ता समीकरणका लागि आग्रह गरे । प्रधानमन्त्री बनिदिन आग्रह गरे । जसपासहित माओवादी र काँग्रेसबिच तीन दलीय छलफलसमेत भयो । तर, त्यसबाट पनि कुनै नयाँ सत्ता समीकरणका विषयमा कुनै निकास निस्किेन । सत्ता समीकरणका लागि लामो समय माओवादीले दौडधुप गर्यो । यसको पनि केही लागेन । अहिले ओली आफै विश्वासको मत लिन तम्सिए । फेरि देउवाको खोजी सुरु भएको छ । बुधवार मात्रै प्रधानमन्त्री ओली सहयोगका लागि आग्रह गर्दै प्रधानमन्त्री ओली देउवाको दैलोमा पुगे ।