भारतको सेरम इन्स्टिच्यूटसँग ५० लाख कोभिशिल्ड खोप खरीद गर्ने प्रक्रिया रोकिएसँगै नेपालको कोभिड-१९ को खोप अभियान प्रभावित बनिरहेको समयमा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण खोप रोकिएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत कोइराला लेख्छन् “कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको छ।”
पहिलो चरणको महामारीका समयमा ठूलो आर्थिक चलखेल गरेर प्रधानमन्त्री निकट ओम्नी समूहलाई स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिइएको उनी बताउँछन् । पहिलो चरणको खोप ल्याउने क्रममा चरम आर्थिक अनियमितता भएको खबर बाहिरिएको थियो तर प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा ओम्नी समूहलाई आफूले चिन्दै नचिनेको बताउँदै आइरहेका छन् ।
कोइराला लेख्छन् “देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन। यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन्।”
अहिलेसम्म नेपालमा भारतबाट खरीद र अनुदान गरी २० लाख, कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार र चीनबाट ८ लाख अनुदान गरी ३१ लाख ४८ हजार डोज खोप भित्रिएको छ। यसमध्ये, २० लाख ९१ हजार जनाले पहिलो चरणको र ३ लाख ६२ हजार जनाले दोस्रो चरणको खोप लगाएका छन्।
नेपालमा सबै नागरिकलाई खोप दिन करीब ५ करोड थान खोप आवश्यक पर्ने अनुमान छ। विश्व स्वास्थ्य संगठनको कोभ्याक्स अभियानबाट नेपाललाई १ करोड ४८ लाख थान खोप दिने प्रतिबद्धता संगठनले गरेको छ। यो खोप सन् २०२१ भित्रै आउने अनुमान छ। तर, आवश्यक पर्ने बाँकी खोप कहिलेसम्ममा उपलब्ध हुन्छ भन्ने टुंगो छैन।