नेपालमा नयाँ भेरियन्टको कोरोना सङ्क्रमण तिब्र रुपमा फैलिरहँदा काठमाडौं उपत्यकाकमा तीन जिल्लामा वितेको १५ दिनमा ३२ हजार ८५१ जना सङ्क्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज वैशाख ८-२२ अर्थात १५ दिनको ग्राफ सार्वजनिक गरेको छ । उक्त ग्राफमा भएका तथ्याङ्कलाई विश्लेषण गर्दा सो अवधिमा ३२ हजार ८५१ जनामा सङ्क्रमण देखिएको हो । त्यहि अवधिमा ७ हजार ६८ जना सङ्क्रमण मुक्त भएका छन् भने ८२ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयले यसअगाडी जिल्लागत तथ्यांक मात्रै सार्वजनिक गर्दै आइरहेकोमा आजदेखि उपत्यकाको थप तथ्याङ्क सार्वजनिक गर्न थालेको छ ।
आज उपत्यकामा ३ हजार ८२५ जना सङ्क्रमित भेटिँदा ९३३ जना सङ्क्रममुक्त भएका छन् भने देशभरी ५८ जनाको ज्यान जाँदा १५ जना काठमाडौं उपत्यका भित्रका रहेका छन् ।
यो १५ दिनको तथ्याङ्कमा हिजो अर्थात मङ्गलबार उपत्यकामा सर्वाधिक संख्यामा सङ्क्रमित फेला परेका थिए । हिजो ३ हजार ८९३ नयाँ सङ्क्रमित भेटिँदा ८०८ जना निको भएका थिए भने १० जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै २० गते सबैभन्दा बढी निको भएको तथ्याङ्कले देखाउँछ । उक्त दिन १ हजार १६३ जना निको भएका थिए । त्यो दिन बाहेक यो अवधिको अरु कुनैपनि दिन ४ अंक (९९९ भन्दा बढी) मा संक्रमित निको भएका छैनन् ।