आइतबार बिहान लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले एकाएक राजीनामा दिए । ‘नयाँ सरकार बनाउन मार्ग प्रशस्त गर्ने’ भन्दै उनले राजीनामा दिएपछि राजनीति एकाएक तात्यो । आफू विरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा रहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि धेरैले विश्वासको मत दिन नसकेपछि राजीनामा दिएको धेरैको ठम्याई थियो । राजीनामा दिएको केही घण्टामै प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले स्वीकृत पनि गरे ।
प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरु हुँदै थियो । अधिवेशनको पहिलो दिन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस हुने कार्यसूची थियो । वैशाख ६ मा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन गरी मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । वैशाख ६ मा विपक्षी दलहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि पोखरेलले प्रदेश सभा अधिवेशन अन्त्य गरेका थिए ।
नेपाली राजनीति हो सोचेझै कहाँ हुन्छ र ? लुम्बिनीमा आजै अनपेक्षित नाटकीय घटना भए । यो क्रम जारी छ । मुख्यमन्त्रीको राजीनामा पनि नेकपा एमाले संसदीय दलको बैठक बस्यो । बैठकले पुनः पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्यो । पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय एमाले संसदीय दलले गर्यो ।
केही समयमै अर्को नाटकीय घटना भयो । लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरिन् । वली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुम्यो । आज बस्ने भनिएको लुम्बिनी प्रदेश सभाको अधिवेशन बस्न नपाउँदै अन्त्यको सिफारिस गरियो । कामचलाउ मुख्यमन्त्री पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस पत्र पठाए ।
एकपछि अर्को राजनीतिक चमत्कार भइरहेको लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरे ।
मुख्यमन्त्रीमा पुनः पोखरेल नियुक्त भएपछि नेकपा एमालेका एक जना सांसदले राजीनामा दिएका छन् । मुख्यमन्त्रीको पुनर्नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन् ।
कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेयले राजीनामा दिएका हुन् । उनीसँगै कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले पनि विपक्षी मोर्चालाई सघाउने तयारी गरेको बताइन्छ ।
प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर शपथ नगराउन माग गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफ्नो पक्षमा ४० सांसदको हस्ताक्षर देखाएका हुन् । ८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ ।
उनीहरू हठातमा प्रदेश सभाको विशेष अधिवेशन गरिएकोप्रति पनि आक्रोशित छन् । मुख्यमन्त्री पोख्रेलले पदबाट राजीनामा, पुनः शपथको तयारी र अधिवेशन अन्त्यको निर्णय गरिसक्दा उनलाई हटाउन लागि परेका विपक्षी दलहरू बल्ला आन्तरिक छलफलमा जुटेका छन् ।
प्राय हिन्दी सिनेमामा देख्न पाइने राजनीतिक नाटक लुम्बिनीमा मन्चन भइरहेको छ । हिन्दी सिनेमा जस्तै अब के हुन्छ भनेर अनुमान लगाउन सजिलो छैन । लुम्बिनीको राजनीतिले कस्तो मोड लिन्छ ? कुन नाटक मन्चन हुन्छ त्यो देखिँदै जानेछ ।