नेकपा (माओवादी केन्द्रबाट) निष्कासित भएपछि सासंद र मन्त्री पद गुमाएका ४ जना मन्त्रीले आज पुन:पद तथा गोपनीयताको सपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन्।
उनीहरूले पहिलेकै मन्त्रालयमा नियुक्त लिएका हुन्। जसअनुसार रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सपथ लिएका हुन्।
भट्ट ३ फागुन २०७५ मा केपी शर्मा ओलीको सरकार गठन भएयता निरन्तर मन्त्री छन्। रायमाझी, साह र चौधरी भने प्रनिनिधिसभा विघटनपछि १० पुसमा पुनर्गठित मन्त्रिपरिषदमा सदस्य बनेका थिए।
संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि उनीहरुले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा नेकपा एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको र केन्दीय सदस्य पद स्वीकार गरेकाले उनीहरुलाई माओवादी केन्द्र पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्काशन गर्ने निर्णय भएको पत्र चैत २४ गते संसद सचिवालयमा दर्ता गराएका थिए ।