नेपाल पत्रकार महासंघ, उदयपुर शाखामा पत्रकारहरुको एक समूहले ताला लगाएको छ । विवाद भएपछि उम्मेदवारी दर्तासमेत रद्द भएको छ ।
निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै पत्रकारका विभिन्न संगठनहरुले संयुक्त रुपमा ताला लगाएको महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिए । उनका अनुसार प्रेस सेन्टरको अगुवाइमा निर्वाचन कार्यक्रम रद्दको माग गर्दै सोमबार तालाबन्दी भएको हो ।
महासंघले निर्वाचन कार्यक्रम सम्पन्न गराउन बद्री काफ्लेको संयोजकत्वमा कमलबहादुर कार्की र बन्दना दनुवार सदस्य रहने गरी निर्वाचन समिति गठन गरेको थियो ।
यस्तै बैतडीमा पत्रकार महासङ्घको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । यही चैत्र २५ गते हुने निर्वाचनका क्रममा मनोनयन पत्र च्यातिएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो।
सदस्यता वितरणका क्रममा गैर पत्रकारहरूलाई सदस्यता प्रदान गरिएको भन्दै अधिकांश पत्रकारहरू सङ्घर्षमा उत्रिएपछि २२ गते आइतबारबाट हुने मनोनयन प्रक्रिया प्रभावित भएको थियो।
निर्वाचन समितिले सोमबार बिहान ११ बजेसम्म मनोनयनको म्याद थपे पनि समझदारी जुट्न नसक्दा २ बजेसम्मका लागि म्याद दिइएको थियो। दिउसो साढे एक बजे मनोनयन सुरु भए लगत्तै असन्तुष्ट समूहले मनोनयन पत्र च्यातेको हो।
निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन समितिको कार्यालयमा आइतबार देखि तालाबन्दी भएको । तालाबन्दी खुलाएर सहमति नगरी निर्वाचन प्रक्रिया अघि बढाएपछि विवादले चर्को रूप लिएको हो।
जिल्लामा क्रियाशील पत्रकारहरूले महांसघको सदस्यता नपाएको र गैर पत्रकारहरूलाई सदस्यता दिएको भन्दै बैतडीका अधिकांश पत्रकारहरू आन्दोलित भएका छन्।