नेकपा एमालेका सचिव भीम रावलले प्रधानमन्त्री केपी ओलीले जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।
शनिवार बसेको एमालेको केन्द्रीय समितिको बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
ओली पक्षको उक्त निर्णयलाई नेता रावलले अवैध र हास्यासपद भएको प्रतिक्रिया दिएका छन् । उनले ट्विटरमा लेखेका छन्– ‘केपी ओलीजीले म समेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध छ । यो उहाँको निरङ्कुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो ।’
‘राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएका आवाजबाट त्रसित भई विदेशी गुप्तचर प्रमुखसँग राति मन्त्र न गर्ने, नेपालको संविधान मिच्दै जनादेश माथि प्रहार गरी प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको अवैध कमिटीको कथित बैठकले कारबाही गर्नु अवैध र हास्यास्पद छ’, रावलले ट्विटरमार्फत भनेका छन् ।
रावलले निर्वाचनमा जारी गरेका प्रतिबद्धता पूरा नगर्ने, आफै हस्ताक्षरित गरी गरेको पार्टी एकता भत्काउने, एमालेको विधान उल्लङ्घन गर्दै फागुन २८ गते मनपरी निर्णय गर्ने जस्ता निर्णय किन गरेको भन्ने बारे ओलीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्ने बताए ।
केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध छ।यो उहाँको निरङ्कुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो : pic.twitter.com/4YsYE8iEhF
— Bhim Rawal, PhD (@BhimRawal179) March 20, 2021