प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदी बेचेको नभइ फिर्ता ल्याएको बताएका छन् ।
कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘मैले धेरै गाली खाएको तपाईँहरूलाई थाहा होला । महाकाली सन्धि गरेर नदी बेच्यो भनेर आरोप लगाइन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘नदी बेचेको होइन । त्यत्तिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको छ । बेचेको होइन । फिर्ता ल्याइएको छ ।’
उनले महाकालीको पानी नेपाली किसानको खेतसम्म पुर्याउने योजना निर्माणाधीन अवस्थामा रहेको र छिट्टै पूरा हुने समेत बताए । नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री पीभी नरसिंह रावबीच २०५२ माघ १९ गते महाकाली नदीको एकीकृत विकाससम्बन्धी महाकाली सन्धि भएको थियो । यो सन्धि नेपालको हित विपरीत भएको र त्यसमा ओलीले महत्त्वपूर्ण भूमिका खेलेको आरोप लाग्दै आएको छ ।