प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमकाविरुद्ध थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ ।
आज (मंगलबार) बसेको केन्द्रीय कार्यसमितिको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य डा. चन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।
माघ १९ गते भातृसंस्था र २४ गते शुभेच्छुक संस्थाको आयोजनमा देशभर प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै, पार्टीले माघ ३० गते ७७ जिल्लामै प्रदर्शन गर्ने कार्यक्रम छ ।
के काङ्ग्रेस पनि फुटको संघारमा पुगेको हो त ? के भन्छन् धनराज गुरुङ
कांग्रेसले यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध गत पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ पालिका र माघ ८ गते छ हजार ७४३ वडामा विरोध प्रदर्शन र सभा सम्पन्न गरिसकेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध माघ १२ गते राजधानीमा नागरिक समाजले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको भनी विरोध गर्दै बैठकले घाइते सबै आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
यसैगरी प्रधानमन्त्रीले पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त गरिरहनुभएका अभिव्यक्ति पदको गरिमानुकूल नभएको पार्टीले जनाएको छ ।
बैठकले संसारको दोस्रो अग्लो हिमाल ‘के टु’ को सफल आरोहण गर्ने निर्मल पुर्जासहित दश नेपाली युवालाई उच्च सम्मानसहित विशेष बधाई ज्ञापन गरेको छ । बैठकले पार्टीको स्थानीय तह संगठन पुनर्संरचनाको समायोजन ७४ जिल्लामा पूरा गरी केन्द्रीय कार्यसमितिलाई गत पुस ३ गते लिखित जानकारी गराएकामा केन्द्रीय निर्वाचन समितिलाई धन्यवाद प्रकट गरेको छ ।
बैठकले पार्टी पदावधि समाप्त भएका भ्रातृ संस्था नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गर्ने निर्णय गरेको छ ।
विदेशस्थित पार्टीका नेपाली जनसम्पर्क समिति कतार, बहराईन, मलेसिया र साउदी अरबबाट पार्टीको विधान र नियमावलीबमोजिमको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नयाँ र नवीकरणतर्फको नामावलीको सूची र सोवापतको सदस्यता शुल्कसमेत दाखिला हुन आएकाले सो सदस्यतालाई स्वीकृत गर्ने बैठकले निर्णय गरेको छ ।
कांग्रेसले प्रक्रिया पूरा गरी युरोपस्थित माल्टामा बसोबास गरिरहेका लोकतन्त्रवादी नेपालीको सक्रियतामा २०२० जनवरी २५ मा नेपाली जनसम्पर्क तदर्थ समिति गठन गरी आबद्धताका लागि निवेदनसहित आवश्यक कागजात पेश गरेकाले समितिलाई पार्टीसँगको आबद्धता प्रदान गर्ने निर्णय पनि गरेको छ ।
सभापति शेरबहादुर देउवाका सभापतित्वमा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका प्रस्ताव बैठकबाट सर्वसम्मत पारित भएको थियो ।