उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।
यसअघि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगड फेरि राज्यमन्त्री सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका हुन् । प्रधानमन्त्रीले यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए । तर, खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरेपछि उनको स्थानमा दुगडलाई ल्याएका हुन् ।
देशको अर्थतन्त्रलाई माथि उकास्ने र सरकार निजी क्षेत्रलाई जोडेर देशलाई समृद्धिको दिशामा लैजाने गरी प्रधानमन्त्रीको टिममा रहेर काम गर्ने दुगडले बताए । विराटनगरमा जन्मेका दुगड सन् १९८४ देखि उद्योगधन्दामा छन् ।
२०७० सालमा भने उनले नयाँ पार्टी खोल्ने भन्दै पत्रपत्रिकामा विज्ञापन समेत गरेका थिए। त्यतिबेला पार्टीको पदमा तोकेर विज्ञापन गरिएपछि तंरग पैदा भएको थियो। तर, २०७० को चुनावमा उनको पार्टी नव नेपाल पार्टी असफल भएको थियो।
२०७० को निर्वाचनमा उनको पार्टीले २२ उम्मेदवार उठाउँदा समेत केबल १३९८ मत ल्याएको थियो। पार्टी असफल भएपछि दुगडले पार्टीलाई एमाले प्रवेश गराएर विलय गराएका थिए।
दुगडको सेञ्चुरी मसला लगायतका मसला उद्योगमा लगानी छ। त्यस्तै, पोलिमर उद्योग, होटल क्षेत्रमा पनि लगानी छ।