प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ ।
प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको हो । प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले उहाँहरुबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको बताए ।
“सधैँ बालुबाटारमा हुने छलफल यसपटक प्रचण्ड निवास खुमलटारमा भएको हो”, उनले भने, “आज भएको भेटघाट पनि दुई अध्यक्षबीच पार्टी विवादलाई निकास दिन यसअघि भइरहेका छलफलको निरन्तरता हो ।”
दुई अध्यक्षबीच छलफल भइरहँदा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि छलफलमा सहभागी थिए । पार्टीको स्थायी कमिटी बैठक चलिरहँदा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल चलिरहेतापनि यसले निकास दिन भने सकेको छैन । आइतबार स्थायी कमिटी बैठक डाकिएको छ ।
भेटमा ओलीले अर्का प्रचण्डलाई लिखित ‘आरोपपत्र’ फिर्ता लिन आग्रह गर्नुभएको बताइएको छ । जवाफमा प्रचण्डले प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटीको बैठकमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताउनु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
यसैगरी प्रधानमन्त्री ओलीले प्रचण्डसँगको छलफलपछि गृहमन्त्री रामबहादुर थापासित भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली गृहमन्त्री थापालाई भेट्न पुल्चोकस्थित मन्त्री निवास पुगेका हुन् ।
गृहमन्त्रीनिकट स्रोतका अनुसार भेटमा ओलीले गृहमन्त्री थापालाई आफ्नो पक्षमा पार्न फकाएको बताइएको छ । गृहमन्त्रीको सरकारी निवासमा बादलसँगै भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङ तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी भएको बताइएको छ ।
पार्टी विवाद उत्कर्षमा पुगेका वेला गृहमन्त्री थापा भने पक्ष–विपक्षमा खुलेका छैनन् । पार्टी फुटको अवस्थामा पुगेको अवस्थामा उनले प्रचण्डलाई नै साथ दिने स्रोतको दाबी छ ।
नेकपा स्रोतका अनुसार अहिले अध्यक्ष ओलीलगायत नेताहरुले पार्टी फुट्न नदिन अन्तिम प्रयास गरिहेको जनाएको छ । यसैका लागि ओलीले आज दौडधुप गरेको बुझिएको छ ।