सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ ।
मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको कृषि मन्त्री घनश्याम भुषाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठकले व्यापारी पक्रने निर्णय गरेको हो ।
सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एआईजी समेत सहभागी भएको बैठकले किसानको रकम उपलब्ध नगराउने व्यापारीलाई पक्राउ गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
अघिल्लो वर्ष सरकारकै उपस्थितिमा तिर्ने भनेर कबोल गरेको उखुको बक्यौता रकमसमेत नपाएपछि उखु किसानहरू अहिले काठमाडौंमा सडकमा आन्दोलन छन् ।
चार/पाँच वर्षअघि करिब एक दर्जन चिनी उद्योगीलाई बेचेको उखुको पैसा पाउनुपर्ने माग राख्दै २०७६ वैशाख ३१ यता मध्य मधेस र नवलपरासीका उखु किसान निरन्तर आन्दोलित छन् । पछिल्लो एक वर्षमा आफ्ना माग राखेर काठमाडौं धाउने र उधारो सहमति गरेर देहात फर्किने उनीहरूको क्रम दोहोरिरहेको छ । जुन यसपालाको आन्दोलनपछि तोडिने उनीहरूको आशा छ।
उखु किसान संघर्ष समितिका अनुसार २०७० देखि २०७६ सालसम्म मध्य मधेस र नवलपरासीसहितका २० हजारभन्दा धेरै किसानले बेचेको उखुको मूल्य पाएका छैनन् । उद्योग तथा वाणिज्य मन्त्रालयका अनुसार ८९ करोडभन्दा धेरै रकम ७ चिनी उद्योगीले किसानहरूलाई भुक्तानी गरेका छैनन् ।
उद्योग तथा वाणिज्य मन्त्रालयका अनुसार ८९ करोडभन्दा धेरै रकम ७ चिनी उद्योगीले किसानहरूलाई भुक्तानी गरेका छैनन् ।
मन्त्रालयका अनुसार गत वर्ष माघसम्ममा चिनी मिलहरूले किसानको १ अर्ब ४० करोड बाँकी थियो । यो अवधिमा केही उद्योगहरूले किसानको रकम तिरे पनि सबैभन्दा धेरै अन्नपूर्ण सुगर मिल्सले १७ करोड, श्रीराम सुगरले २६ करोड, लुम्बिनी सुगर मिल्सले ८ करोड ४१ लाख र इन्दिरा सुगर मिल्सले ४ करोड ७० लाख तिर्न बाँकी छ ।