प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा शून्यसहनशीलताको नीति लिएको दोहोर्याउन छोडेका छैनन् । भ्रष्टाचार विरुध्दको अन्तर्राष्ट्रिय दिवसको अवसरमा दिएको सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हदसम्म ओरालो लागेको उल्लेख गरेका छन् ।
तर सत्तारुढ नेकपाका मन्त्रीदेखि ठूला नेता अनियमितामा मुछिने क्रम भने रोकिएको छैन । त्यसो त सरकारका हरेकजसो ठूला खरिद भ्रष्टाचारजन्य गतिविधिका कारण विवादमा पर्ने गरेको छ ।
सत्तारुढ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ बिहीबार निधन भएका कमानसिंह लामासँगको आर्थिक कारोवार विवादमा मुछिएका छन् । कम्युनिष्ट नेता लामाले सातादिनअघि आफ्नो फेसबुक स्टाटसमा प्रवक्ता श्रेष्ठको नाम नलेखी रकम हिनामिना गरेको तथा आफ्नी श्रीमतीलाई प्रभावमा पारेर रकम खाइदिएको संकेत गरेका थिए । भिडियो र अडियो टेप नै सार्वजनिक भएपछि श्रेष्ठ विवादमा झनै फसेका हुन् । श्रेष्ठका स्वकीय सचिव सुसन कर्माचार्य र कमानसिंहकी कान्छी श्रीमती इन्द्रमायाबीचमा ८ करोड रूपैयाँबराबरको कारोबार भएको भिडियोबाट बुझिन्छ, जसमध्ये कमानसिंह लामाले बैंकबाट झिकेर २ करोड ५० लाख दिइसकेको र बाँकी २ करोडमा कुरा नमिलेको देखिन्छ।
‘सुसनले लिएको साढे २ करोड रूपैयाँ मेरो हो, मैले बैंकबाट निकालेर दिएको हुँ, त्यो पैसा तपाईँले चलाउने अनि ब्याज चाँहि मैले तिरिरहने?’ सिंहले श्रेष्ठसँग प्रश्न गरेका छन्। सेयर खरीदका बारेमा दुवै नेताबीच कुराकानी नमिलेको भिडियोमा देखिन्छ ।
श्रेष्ठले सेयरको ७० प्रतिशत रकम सुसनलाई प्रयोग गर्न दिनु भन्दै नेता लामासँग आग्रह गरेका छन्, तर लामाले भने त्यो पैसा जसरी पनि दिनुपर्ने भन्दै अडान कसेका छन् उनको तर्क छ, “पैसा पनि नपाउने, ब्याज पनि तिरिरहनुपर्ने मैले?” यसो भन्दै उनी अन्यायमा परेको जनाइरहेका छन् ।
प्रवक्ता श्रेष्ठबिरुद्ध केन्द्रीय सचिवालयमै लिखित उजुरी दर्ता भएको तथ्य बाहिर आएको छ । लामाले स्थायी कमिटी बैठक चलिरहेकै बेला गत भदौंमा प्रवक्ता श्रेष्ठले श्रीमतीलाई समेत आफ्नो बसमा पारेर आफ्नो जीवन नै बर्वाद पारेको र करोडौं रुपैया खाइदिएको भन्दै उजुरी दिएको समाचार सार्वजनिक भएका छन् । नेकपा सचिवालय स्रोतका अनुसार लामाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरी सचिवालयका सदस्यलाई बोधार्थ दिनुभएको महासचिव बिष्णु पौडेलमार्फत उजुरी दिएका थिए ।
यही विषयमा लामाले मर्नुअघि घुमाउरो पारामा मार्मिक स्ट्याटससमेत लेखे ।
लामाले लेखेको हृदयविदारक स्टाटस
आमा नाम नै कति मोहक शब्द ‘आमा’ मैले संसारमा सबभन्दा बढी मया गर्ने ‘आमा’
प्रिय, मैले तिमीलाई त्यही आमापछिको दोस्रो माया गरेको थिएँ । तर त्यो आज याम्बालिङरूपी बर्मुडा ट्रयाङगलमा फसेको छ । तिमी यसलाई सामान्य लोग्ने–स्वास्नीको झगडाका रूपमा लिँदै आफ्नो स्वास्नी आफैंले हात लिन सक्नुपर्छ भन्छन’ छ्या कति कुरूप सिलाबरको डेक्ची कुचिएको कुरूप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरू !
प्रिय, तिमी त उसको परिवार रे, आफ्नो श्रीमतीलाई आफैंले हात लिनु पर्छ रे ! वा रे वा नेताज्यू हातमा हैन, मैले शिरमा राखेको थिएँ । ढोंगीहरूले त हातमा भनेर घुँडामा झुण्ड्याउने हो क्यार ! जे होस, तिम्रा जालझेल खेती सप्रेको नै छ, सादा जीवन उच्च विचारका होर्डिङ बोर्ड बगैंचा घरका भित्तामा टाँसेका छौं, त्यो कतिको सहज लाग्छ, कुन्नी मलाई त हाँडीघोप्टेजस्तो लाग्छ !
याद गर प्रिय, मैले तिमीलाई सबै कुरो सम्पत्तिसम्म सुम्पें । तर मेरो स्वाभिमानप्रति खेलबाड गर्ने छुट दिइएको छैन । धेरैले नबुझेका र तिमीले पनि नबुझेको कुरो यही छ ।
प्रिय, म कोरोनाले लिएर जानका लागि सबै योग्यता पुगेको मान्छे म अरूले भने मृत्यु शैय्याबाट भन्थे होला, तर म भन्दिनँ ! कोभिडसँग पौंठेजोरी खेल्दै छु ! ! सायद म बाँच्छु पनि होला, मेरा वरपरबाट धेरै गए पनि ! तर म आत्तिन्नँ !
यो अन्तिम घडीमा पनि मेरो धन मेरा लागि काम लाग्दैन भने त्यो धनको के काम १ आफ्नो पाउनुपर्ने त यो हालतमा दिँदैन भने मेरा निम्ति कहिलेलाई चाहियो ?
यो जीवनको जीवन–मरणको लडाइँका बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय, गरिखान मनग्य गरिदिएको छु ! बाँकी जीवन मोज गर ! मैले पूरा गर्न नसकेका अधुरा काम अरूसँगै पूरा गर ! आठै आश्चर्य हेर्नेरघुम्ने भोक मैले नै जगाइसकेको छु तिमीलाई, सक्षम पनि छौ ! लौ बधाई प्रिय !
फसाउन खोजियो
नेकपा प्रवक्ता श्रेष्ठले कम्युनिस्ट आन्दोलनको भ्रष्टीकरणविरुद्ध लाग्दा आफूलाई नियोजित रुपमा फसाउन खोजिएको बताएका छन् । विभिन्न मिडियामा प्रतिक्रिया दिँदै गर्दै नेपाली कम्युनिस्ट आन्दोलन भ्रष्टीकरणतिर भएको विषयमा निरन्तर पैरवी गर्दा आफूमाथि प्रहार भएको रुपमा अथ्र्याएका छन् ।
‘मैले कम्युनिस्ट आन्दोलन भ्रष्टीकरण गएको विषयमा निरन्तर बोल्दै, लेख्दै र पैरवी गर्दै आइरहेको छु । त्यो अभियानलाई कमजोर पार्न मेराविरुद्ध प्रचार गरियो । यस्ता आक्षेपबाट कुनै हालतमा विचलित हुन्नँ । त्यसका विरुद्ध दृढतापूर्वक उभिन्छु’ उनले भनेका छन् । आर्थिक लेनदेनमा आफ्नो कुनै संलग्नता नभएको बताउँदै श्रेष्ठले दुई पक्षलाई मिलाउन सहजीकरण मात्रै गरेको दाबी गरे ।
नारायणकाजीको अहिलेको प्रकरण पैसासँग मात्र जोडिएको छैन, नैतिकतासँग पनि गासिएको छ । यो लेनदेनको विषय के हो ? इन्द्रमाया, सुसन र नारायणकाजी श्रेष्ठले केके गरेका थिए ? यो विषयमा सार्वजनिक प्रष्टता चाहिन्छ । सत्तारुढ पार्टीका प्रवक्ता तथा संघीय संसद्का सदस्य समेत रहेका नारायणकाजीले यो अडियो भिडियो र यसभित्र परेका विषयका बारेमा तथ्य ओकल्नुपर्छ । नेकपाको सरकारले पनि यस विषयमा छानबिन अगाडि बढाउनुपर्ने देखिन्छ ।
यसअघि मन्त्री रहकै बेला सूचना तथा सन्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोडको डिल गरेको अडियो बाहिरिएको थियो । अडियो बाहिरिएपछि उनले मन्त्रीबाट राजीनामा दिए । मुद्धा अख्तियारसँग पनि पुग्यो तर किनारा लाग्न सकेको छैन । इश्वर पोखरेल र भानुभक्त ढकालको नाम पनि अनियमिततामा जोडिएको थियो । तर कसैले छानबिनमा तत्परता देखाएनन् । आफूलाई सादगी नेता बताउने श्रेष्ठको पनि यस्तै प्रकरणमा नाम जोडिएको छ । उनी दोषी या निदोषी जे होलान् तर छानबिन कसले गरिदिने ? नारायणकाजीमाथी अनुसन्धान गर्लान र यिनीहरुले ? यो प्रकरण पनि त्यस्तै नसेलाउला भन्न सकिदैन ।