सत्तारुढ नेकपाका विवाद उत्कर्षमा पुगेको बेला अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटार बोलाएर प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले सहकार्यको प्रस्ताव राखेका छन् । दुईजना मिले सबै समस्या समाधान हुने ओलीको ठम्याइ छ । सहमतिको आधार तय गर्न भन्दै दाहाललाई सहकार्यको प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्री ओलीले दुई अध्यक्ष मिलेर पार्टी एकीकरण भएका कारण अहिले पनि दुवै अध्यक्ष मिल्दा समस्या समाधान हुन्छ भनेका थिए । उनले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमको नाम नलिई अरु विषय छाडौं, अध्यक्षद्वयको सहकार्य आवश्यक छ, राष्ट्रले पनि यही खोजेको छ भन्दै सहकार्यको प्रस्ताव राखेको स्रोतको दाबी छ । दाहाल नेपाल समूहलाई तोड्ने ओलीको प्रयास नौलो भने होइन । यसअघि पनि दाहाल नेपाल समूह छुट्याउन ओली पक्षले विभिन्न प्रयास गरेको थियो ।
दाहालले भने यस विषयमा कुनै प्रतिक्रया जनाएका छैनन् ।
प्रधानमन्त्री ओलीले पार्र्टीका बैठकहरूमा आफूले हस्तक्षेप नगर्ने र महाधिवेशनमा एकल अध्यक्षको प्रस्ताव राखेर जाने विषय पनि उठाएका थिए । ओलीको यो प्रस्तावबारे थाहा पाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल भने चिढिएका छन् । नेता नेपालले प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहाललाई पार्टीलाई विधिमा सञ्चालन गर्न र आफूलाई सुप्रिम नठान्न चेतावनी दिएका छन् । एक अन्तरवार्तामा नेता नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने र पार्टीभित्र देखिएका समस्या पार्टीको बैठकमा छलफल गरेर टुंगो लगाउनुपर्ने बताएका छन् ।
दाहाल नेपाल समूहलाई तोड्ने ओलीको प्रयास नौलो भने होइन । यसअघि पनि दाहाल नेपाल समूह छुट्याउन ओली पक्षले विभिन्न प्रयास गरेको थियो ।
उनले दुवै अध्यक्षलाई आन्दोलन र परिवर्तनको नेता बन्न सुझाव दिँदै पार्टी बैठकभन्दा फरक ढंगले नउभिन चेताए । उनले दुवै अध्यक्षले आफूहरू सुप्रिम हो भन्ने ठानेको र त्यसले संगठनभित्र नकारात्मक असर पार्ने बताए । आफूले कुनै पनि पद नमागेको स्पष्टीकरण दिँदै नेपालले प्रधानमन्त्री वा अरु जेजे अफर भए पनि अहिलेको लडाइँ त्यसको लागि नभएको बताए ।
अहिले नेकपा स्थायी समिति बैठक स्थगित छ । एक हप्ताका सहमति गर्ने भन्दै बैठक स्थगित गरिएको हो । त्यसका केही संकेतहरु देखा परेका छन् । बुधबार ओली र प्रचण्डबीच एक घण्टा लामो छलफल भयो ।
कनै सहमति नभए पनि यसले सकारात्म बातावरण बनाएको नेकपा नेताहरुको भनाइ छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल भने यसअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच भएका टेलिफोन संवाद र ‘वान टु वान’ड वार्ताले संवादको ढोका खुलेकोे दाबी गर्छन् ।
दौडधुप र विकल्प
नेकपामा ओली र प्रचण्डबीच सहमति गराउन दौडधुप तीव्र पारिएको छ । ओली निकट नेताहरु अब पार्टी एकताको रक्षाका लागि भागबण्डासहित ‘प्याकेज’मा सहमति गर्नुपर्ने अडानमा छन् । उनीहरुले यसैअनुरुप दौडधुप थालेका छन् । अहिलेको विवाद कुनै विचार, सिद्धान्त र पद्धतिका लागि नभई भागबण्डाका लागि भएकाले भागबण्डामै सहमति गरे पार्टी एकता जोगिने उनीहरुको तर्क छ ।
छुट्यो कि ?
सहमतिका लागि विभिन्न विकल्पमासमेत छलफल जारी छ । सचिवालयले विवाद समाधान गर्न नसकेकोले नयाँ महाधिवेशन कमिटी गठन गरेर समाधान खोज्नुपर्ने एएटा विकल्पमा छलफल गरिएको छ । दोस्रोमा ओली, प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई बराबरी समावेश गरी मन्त्रिमण्डल पुनर्गठन गर्ने । तेस्रोमा भागबण्डामै राजनीतिक नियुक्तिहरु गर्ने र चौथोमा पार्टी एकताको बाँकी काम पुरा गर्न कार्यदल गठन गर्ने ।
स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव निर्माण गर्ने र भदौ २६ कै सहमतिलाई पुनव्र्याख्या गर्न कार्यदल गठन गर्ने सम्भावना पनि उत्तिकै छ । ओली पक्षले केही लचिलो बनेको संकेत गर्दै अनेक विकल्पबारे छलफल तीब्र पारे पनि प्रचण्ड–नेपाल पक्ष भने लचिलो बन्न चाहेको छैन । ओली पक्षबाट ‘अफर’हरु आए पनि आफूहरु एकजुट रहेको सो पक्षका नेता बताउँछन् । ओली दाहाल पक्षका नेताको पनि जसरी पनि सहमति खोज्नुपर्ने भनाइ छ । तर त्यसका लागि ओलीले कम्तिमा एक पद छोड्नुपर्ने उनीहरुको अडान कायमै छ ।