३० जेठ ०७३ मा डा. बाबुराम भट्टराईले उत्साही मुडमा समृद्धिको नारासहित आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी घोषणा गरे । नयाँ शक्ति पार्टीको उद्घाटनको दिन अर्को तामझाम गरिएको थियो, नौ वटा राष्ट्रिय दैनिक पत्रिकामा ‘ज्याकेट एड’ दिएर । मूलधारमा राजनीतिक दललाई ‘धोत्रा, पुराना, संसदवादी’ दलको संज्ञा दिएर आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यसहित भट्टराइले नयाँ शक्ति नामक दलको घोषणा गरेका थिए ।
बाबुरामसँगै पूर्वप्रहरीदेखि पूर्वप्रशासकसम्म, संघसंस्थामा काम गर्नेहरूदेखि र माओवादीभित्रैका थुप्रै नेता–कार्यकर्ता जोडिए । उनले नयाँ शक्तिलाई पुरानो कम्युनिस्ट र प्रजातान्त्रिक विचारभन्दा उन्नत सिद्धान्तमा आधारित दल बनाउने घोषणा गरे ।
तर पार्टी बनेको तीन वर्ष पनि पूरा नहुँदै भट्टराईको पार्टी संघीय समाजवादी फोरममा विलय भयो । उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमसँग भट्टराईले २०७६ बैशाख २३ मा एकता गरे । दुवै पार्टी मिलाएर समाजवादी पार्टी नेपाल नामकरण गरियो ।
यससँगै उनको नयाँ शक्ति बनाउने अभियान पनि सकियो । एकता समारोहमा दुवै पार्टीका नेताले तेस्रो धारको रुपमा समाजवादी पार्टी उभिने घोषणा गरे । त्यो पार्टी पनि लामो समय रहेन । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच २०७७ बैशाखमा एकता भयो । दुई पार्टी एकता भएपछि नाम जनता समाजवादी राखिएको छ । प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले राति नै एकता घोषणा गरे ।
बैकल्पिक शक्ति बनाउने भन्दै बीबीसीको जागिर छोडेर रविन्द्र मिश्रले साझा पार्टी खोले । उज्ज्वल थापाले पनि विवेकशील साझा पार्टी गठन गरेका थिए । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भयो । एकतापछि पार्टीको नाम विवेकशील साझा पार्टी राखियो ।
पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै दुई पार्टीका नेताद्वय मिश्र र थापाले मुलुकमा बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न पार्टी एकता गरिएको दावी गरे । तर एकता भएको १६ महिनापछि उक्त दल पनि फुट्यो । विवेकशील साझा पार्टीका दुई सहसंयोजक मध्ये उज्जल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए । मिश्रले पार्टी एकलौटी ढंगले अगाडि बढाएको, आफू निकटका व्यक्तिहरुलाई नियुक्ती गरेकोप्रति उज्जल थापा समूह असन्तुष्ट थियो।
वैकल्पिक पार्टीका रुपमा आफूलाई प्रचार गर्दै आएको विवेकशील साझाले संघीय र प्रदेश निर्वाचनमा सहभागिता जनाए पनि संघीय संसदमा भने एक सिट पनि जित्न सकेन । प्रदेश तीनको प्रदेश संसदमा भने उक्त पार्टीका तर्फबाट तीनजना सांसद छन् ।
विवकेशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण हुने भएको छ । उनीहरुबीच बुधबार दिउँसो औपचारिक एकता घोषणा हुन लागेको साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी दिए ।
मिश्रले विगतका कमजोरीप्रति क्षमायाचना मागेका छन् । विवेकशील साझा पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउनेमा विश्वस्त रहेको मिश्रले बताएका छन् । अलग अलग स्थापना भएका दल बीचमा एकीकरण भएर पुनः विभाजित भएका थिए ।
नेपालको राजनीतिमा दलहरू जुट्ने र फुट्ने सामान्य कुरा हो । माथिका प्रतिनिधि घटना वा पात्र हुन् । नेपालमा वैकल्पिक शक्तिको परिकल्पना, बहस र चर्चा नयाँ होइन । इतिहासमामा थुप्रै शक्तिहरु वैकल्पिक शक्तिको रूपमा उदय भए । केही शक्तिहरुले राम्रो जनमत पाए, सत्तमा पनि पुगे। तर धेरै टिक्न सकेनन् । माओवादी त्यसको उदारहण हो । अहिले नेकपा बनेको छ ।
वैकल्पिक भनिएका शक्तिहरुले बिस्तारै बैकल्पिक मुद्दालाई छोड्दै गए । शक्तिहरुको विचार, मानसिकता, कार्यशैलीमा तात्विक भिन्नता देखा परेन । जनताले विकल्प खोजिरहेको हुन्छन् । अहिले पनि जनताले विकल्प खोजिरहेका छन् । त्यसको प्रतिबिम्ब अहिलेको राजावादीहरुको आन्दोलनलाई लिन सकिन्छ । तर त्यो उपयुक्त विकल्प होइन । यसअघि सयौं वर्ष शासन गरेर पाखा लगाइएको शक्ति विकल्प हुन सक्दैन । विकल्प दिने शक्ति हुनुपर्छ । नत्र जनताले विश्वास गर्दैनन् । वैकल्पिक शक्तिको आवश्यकता छ । तर त्यो शक्ति बनेर कोही आउन सकेनन् । अहिलेको बैकल्पिक भनिएका शक्तिको विकल्प जनताले खोजिरहेका छन् ।