सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले सरकार गणतन्त्रविरोधी (राजावादी) को संरक्षणमा लागेको गम्भीर आरोप लगाएका छन्।
आइतबारदेखि शुरु भएको स्थायी समिटी बैठकमा छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले नेकपाको सरकार र गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा लागिरहेको आरोप लगाएका हुन्।
शर्माले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपाल मात्र राख्ने सरकारको निर्णयबाट गणतन्त्र विरोधीहरु उत्साहित भएको जिकीर गरे ।
‘नेकपाको सरकार र गृह प्रशासन यस्ता (गणतन्त्रविरोधी) क्रियाकलापको रक्षा गरिरहेको छ भन्ने जनआवाज सुनिन थालेको छ,’ नेता शर्माले प्रस्ताव पत्रमा लेखेका छन्, ‘बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरूमा दमन गर्ने र गणतन्त्र विरोधीप्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ।’